काठमाडौं, ९ भदौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यभार सम्हाल्नुभएको छ ।
शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुर (उपत्यका)का प्रहरीको कमाण्डिङ अफिस (महानगरीय प्रहरी प्रमुख)को नेतृत्व सम्हाल्नुहुँदै एआईजी चन्दले गुण्डागर्दी र हरेक प्रकारका अपराधलाई सफाया गर्ने घोषणा गर्नुभयो । ‘नागरिकलाई दुःख दिने गुण्डा र अपराधीमाथि तुरुन्तै एक्सन लिनुस्, मेरो पूरा सहयोग रहन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले उपत्यकाको शान्ति सुरक्षा अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुहुँदै प्रहरीलाई नागरिकमैत्री बनाउन सबैले आ–आफ्नो ठाउमा भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
जिम्मेवारी सम्हालेपछि नेपाल प्रहरी क्लब भृकुटीमण्डमा आयोजित कार्यक्रममा मातहतका युनिट प्रमुख तथा वरिष्ठ अधिकारीहरुलाई सम्बोधन गर्नुहुँदै उहाँले उपत्यकामा शान्ति सुरक्षा कायम गर्नु निकै चुनौतीपूर्ण काम भएकाले जिम्मेवार भएर खटिन निर्देशन दिनुभयो ।
गुनासो लिएर प्रहरीकोे कार्यालयमा आउने सर्वसाधारणलाई शिष्ट व्यवहार गर्न र गेटमा जिम्मेवार अधिकृतलाई खटाउन समेत मातहतका निकायलाई निर्देशन दिनुहुँदै उहाँले प्रहरी जनताको रक्षक हो भन्ने कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । जनताको मन छुनेगरी काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
गृहमन्त्री शर्मा र आईजीपी अर्यालसंग भेटवार्ता
यसैबीच पदभार ग्रहण गरेलगत्तै एआईजी चन्दले आजै गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालसंग भेटवार्ता गर्नुभएको छ । भेटमा उपत्यकाको सुरक्षा स्थिती र सुधारका योजनाबारे छलफल भएको एआईजी चन्दले जानकारी दिनुभयो ।
एआईजी चन्द जनतासँग प्रहरीको सामन्ती व्यवहार होइन सेवक जस्तो हुनुपर्ने मान्यता राख्नुहुन्छ । यसका लागि उहाँले संगठनमा सुधार ल्याउन खोजिरहनुभएको छ । त्यस्तै, अपराधीलाई सुधार्नु प्रहरीको ठूलो सफलता ठान्नुहुन्छ चन्द ।
चन्द तीनै अफिसर हुनुहुन्छ जसले प्रहरी महानिरीक्षक नियुक्त भएर अदालतको आदेशका कारण फूली लगाउन पाउनुभएन् । अदालतले रोकेपनि उहाँले आफूलाई रोक्नुभएन । एआईजीमै भएपनि चित्त बुझाउनुभयो । उहाँ भन्नुहुन्छ– ‘जीवन भनेकै कम्प्रमाइज हो । संगठनमा मैले आफूलाई कम्प्रमाइज गरे ।’













प्रतिक्रिया