– विमल योगी
काठमाडौं, ८ भदौ । राष्ट्रिय जनता पार्टी नेपालले संसदमा रहेको संख्याको अगाडि संशोधन विधेयकलाई षड्यन्त्रपूर्वक असफल बनाएको आरोप लगाएको छ ।
काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले एमालेले संविधान संशोधन विधेयकको विपक्षमा रही आफ्नो नश्लीय चरित्र देखाएको बताउनुभयो । ‘संख्याको बलमा संविधान संशोधन विधेयकलाई षड्यन्त्रपूर्वक असफल गराइएको हाम्रो ठहर छ’, उहाँले भन्नुभयो, ‘एमालेले संविधान संशोधन विधेयकको विपक्षमा रही आफ्नो नश्लीय चरित्र, अहंकारवादी सोँच, परिवर्तन र राष्ट्रिय एकता विरोधी तथा मधेस विरोधी चरित्रलाई अझ पुष्टि गरेको छ ।’
राष्ट्रिय एकता, साम्प्रदायिक सदभाव, राष्ट्रिय अखण्डता, समावेशी नेपाल विरोधी शक्तिको षड्यन्त्रले मुलुकको शान्ति, स्थिरता र पूर्णतामाथी गम्भीर चोट पुगेको छ’, अध्यक्ष ठाकुरले भन्नुभएको छ । उहाँले यस घटनाले पर्ने दुरगामी प्रभावप्रति आफूहरू चिन्तित रहेको बताउनुभयो ।
राजपा नेपालले २ नं. प्रदेशको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूलाई समाहित गर्ने निर्णय गरेको छ । अध्यक्ष ठाकुरले निर्वाचनमा भाग लिन २ नं. प्रदेशका जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरू पठाइ उम्मेदवारहरूको सम्भावित सूची ल्याएर सहमतिका आधारमा उम्मेदवार बनाउने बताउनुभयो ।
राजपा नेपालले चुनाव चिन्ह ‘साईकल’ प्रयोग गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगसँग कुराकानी भएको छ’, उहाँले भन्नुभयो, ‘अब चुनाव चिन्ह ‘साईकल’ प्रयोग गर्ने भएका छौँ ।’ विभिन्न प्राविधिक कारणले राजपा नेपालले माग गरे बमोजिम ‘छाता’ चिन्ह नपाउने भएपछि अर्को विकल्प रोजेको हो । ‘साईकल’ चुनाव चिन्ह शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको हो ।
यस्तै, चुनावको तयारीको सन्दर्भमा राजपाले प्रदेश नम्बर २ का ८ वटै जिल्लामा उम्मेद्वार चयन गर्न ८ जना नेतालाई केन्द्रीय पर्यवेक्षकको जिम्मेवारी दिएको छ ।
पर्यवेक्षकहरूमा सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राणा थारु र पर्सामा विजय गुप्ता रहेका छन् ।













प्रतिक्रिया