काठमाडौं , ८ भदौ । संगठन भत्किएर चकनाचुर भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फेरि पनि भित्रभित्रै संगठन निर्माणको कामलाई अगाडि बढाएको छ । नेकपाका गतिविधिबाट आजित भएका थुप्रै नेता तथा कार्यकर्ताहरूले पार्टी छाडिसकेको छन् । केही नेताहरू माओवादी केन्द्रमा फिर्ता भइसकेका छन् ।
आफ्ना राजनीतिक गतिविधिहरूलाई भूमिगत बनाउँदै आएको नेकपाले नेपाललाई दुई भागमा विभाजन गरेको छ । पूर्वी कमाण्ड हेमन्त प्रकाश ओली र पश्चिम कमाण्ड सन्तोष बुढामगरलाई दिइएको छ ।
कार्यकर्ता र नेताले छाड्न थालेपछि विचलित हुन थालेका विप्लवले पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी अगाडि बढाएको उच्च स्रोतले जनाएको छ ।
तर, प्रचण्डले विप्लवको नेकपालाई भाउ नदिएको स्रोतको भनाइ छ । विप्लवले प्रचण्डलाई एकीकृत जनक्रान्ति मान्ने भए पार्टी एकता गर्न सकिने प्रस्ताव गरेका थिए । तर, सांगठनिक रुपमा कमजोर र जनता नभएको भनेर नेकपालाई हेप्दै आएका प्रचण्डले फेरि पनि विप्लवको प्रस्तावलाई सुनेनसुनेको गरिदिएका छन् ।
नेता कार्यकर्ता रोक्नका लागि पनि विप्लवलाई ठूलो संकट आइलागेको छ । नेकपालाई सर्वसाधारणले आजकाल टेर्न छाडेपछि डर र धम्कीको राजनीतिमा केन्द्रित गर्न सर्कुलर गरेकोस्रोतको भनाइ छ ।
विप्लवले आफ्ना कार्यकर्ता र नेताहरूलाई कालोमोसो अभियान चलाउन पनि निर्देशन दिएका छन् । नेकपाले कालोमोसो अभियान चलाउने र सूची तयार पारेर मोटो रकम मागको योजना बनाएको स्रोतको भनाइ छ ।
चीनसँग नजिक रहेका विप्लवले आफ्ना नेता कार्यकर्ताहरूलाई भ्रमणका लागि पठाउने गरेका छन् । विप्लवले चीन भ्रमणमा आफू निकटका नेताहरूलाई मात्रै पठाउने गरेको आरोप छ । नेकपाभित्र चीन भ्रमणमा जाने विषयमा विवाद समेत भएको स्रोतको भनाइ छ ।















प्रतिक्रिया