१ कार्तिक २०८३, आइतबार

महिला भलिबलमा डायमण्ड र एपिएफ उपाधिनजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ भदौ । डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय एपिएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा भएको सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई सोझो सेटमा हराउँदै पाँचौँ पटक उपाधि नजिक पुगेको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको सेमीफाइनलमा शिवम् न्यु डायमण्डले पश्चिमाञ्चललाई २५–१६,२५–१९ र २५–१७ ले हराउँदै लगातार पाँचौँ पटक फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै दोस्रो सेमीफाइनलमा शसस्त्र प्रहरी बलको एपिएफले जेठो विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

एपिएफले पुलिसमाथि २५–१०,२५–२१ र २५–२० को जित निकाल्यो । पहिलो संस्करणदेखि नै फाइनलमा पुग्दै आएको एपिएफ छैटौँ संस्करणमा पनि फाइनलमा प्रवेश गरेको छ ।

एपिएफले वर्षात् कारणले मंगलबार स्थगित भएको लिगको खेलमा पश्चिमाञ्च र जाउलाखेललाई ३–० को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो लिग खेलमा पश्चिमाञ्चललाई २५–११,२५–९ र २५–१५ र जाउलाखेललाई २५–६,२५–९ र २५–७ ले हराउँदै समूह विजेताको रुपमा सेमीमा पुलिससँगको भेट पक्का गरेको थियो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ ।

काठमाडौं नैकापको शिवम न्यू डायमण्ड एकेडेमी यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । शिवम् न्यु डायमण्डले दोस्रो संस्करणदेखि पाँचौँ संस्करणसम्म लगातार उपाधि रक्षा गरेको छ । पहिलो संस्करणको उपाधि भने नेपाल एपिएफ क्लबले जितेको थियो ।