काठमाडौं, ७ भदौ । प्रधानमन्त्री समेत रहनु भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी विमलेन्द्र निधिलाई दिनुभएको छ ।
भारतको पाँच दिने औपचारिक भ्रमणमा जानु अगाडि देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनुभएको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यबाहक सभापति नदिएर निधिलाई कार्यबाहकको जिम्मेवारी दिइएकोमा असन्तुष्टि बढेको छ ।
सभापति देउवाले केन्द्रीय सदस्यहरूमा हरिप्रसाद नेपाल (पाल्पा), राधेचन्द्र यादव (वारा) र अमृत अर्याल (मोरङ)लाई नियुक्त पनि गर्नुभएको छ ।
त्यसैगरी देउवाले नयाँदिल्ली प्रस्थान गर्नु अगाडि अनुशासन समिति गठन गर्नुभएको छ । केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको हो । समितिका सदस्यहरूमा उमाकान्त चौधरी, कमल पन्त र सुरेन्द्रराज पाण्डे रहनु भएको छ ।












प्रतिक्रिया