१ कार्तिक २०८३, आइतबार

भलिबलमा शिवम् डायमण्ड र पुलिस सेमिफाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ भदौ । डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा मंगलबारबाट शुरु भएको प्रतियोगिताको समूह ‘ए’ बाट डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी समूह विजेता तथा पुलिस समूह उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

मंगलबार भएको उद्घाटन खेलमा शिवम् न्यु डायमण्डले पुलिसमाथि ३–० को सोझो जित निकाल्यो । पहिलो सेट २५–१५ को सहज थित निकालेको डायमण्डले त्यसपछिको दुई सेट लगातर २५–१९ र २५–१७ ले आफ्नो पक्षमा पादै सेमिफाईनलको यात्रा तय गरेको हो ।

डायमण्डको जितमा मुख्य स्पाइकर प्रतिभा मालीले उत्कृष्ट खेल प्रदर्शन गरेकी थिईन् । समूह ‘ए’ मा दुई टोली मात्रै रहेकाले पुलिस डायमण्डसँग पराजित भएपनि सेमिफाइनलमा पुग्न सफल भयो ।

यता, मंगलबार बिहानै भएको समूह ‘बी’ को पहिलो खेलमा पश्चिमाञ्चलले काठमाडौंको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–१५, २५–१७ र २५–२३ को सहज जित निकाल्यो ।

मंगलबारको लागि तय भएको पश्चिमाञ्चल र नेपाल एपिएफ क्लबको अन्तिम खेल भने वर्षाका कारण स्थगित हुन पुग्यो । नेपाल एपिएफ क्लबले १४–४ को अग्रता लिइरहेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित हुन पुगेको थियो ।

त्यसपछि वर्षा नरोकिएपछि खेल पुन सुचारु हुन सकेन । मंगलबार स्थगित भएको खेल बुधबार हुने प्रतियोगिता संयोगिता सुसिलाकुमार श्रेष्ठले जनकारी गराए ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरको पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु इन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुनेछ ।

काठमाडौं नैकापको शिवम न्यू डायमण्ड एकेडेमी यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । डायमण्डले दोस्रो संस्करणदेखि पाँचौ संस्करणसम्म लगातार उपाधि रक्षा गरेको थियो । नेपाल एपिएफ क्लबले पहिलो संस्करणको उपाधि जितेको थियो ।