काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबारको संसद बैठकमा पार्टीको ह्वीप उल्लंघन गर्ने आफ्ना १८ जना सांसदहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले ह्वीप उल्लंघन गर्ने सांसदहरूलाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
‘पार्टीको ह्वीप उल्लंघन गर्ने १८ जना सांसदहरूलाई कारबाही गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘उहाँहरूको सांसद पद नरहने गरेर पार्टीबाट निस्कासित गर्नेसम्म हुनेछ ।’
कस्तो कारबाही गर्ने भन्ने प्रतिवेदन अनुशासन समितिले दिनेछ । अनुशासन समितिको प्रतिवेदन अनुसार अन्तिम निर्णय गर्दै कारबाही गरिनेछ । अनुशान समितिमा राजीव पराजुली, तोरण बहादुर गुरुङ, लीला श्रेष्ठ, श्याम शाही र चन्देश्वर यादव रहेका छन् ।
कारबाहीमा पर्नेहरूमा दीपक बोहरा, सुनिलबहादुर थापा, वविता मोक्तान लावती, रामकुमार सुव्वा, रेमशबहादुर लामा, बिराजबहादुर विष्टसहितका १८ सांसद छन् ।
राप्रपाको हेटौंडा बैठकले यसअघि कारबाहीमा परेका सांसद र पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कारबाही फुकुवा गरेको थियो । यद्यपि पशुपति शम्शेर राणा समूहतिर गएका अधिकांश केन्द्रीय सदस्य र सांसद कारबाही फुकुवा भएपनि फिर्ता भएका थिएनन् ।
सर्वोच्च अदालतले राप्रपा (प्रजातान्त्रिक)का पक्षमा दिएको निर्णयको विरोध गर्दै राप्रपाले जनतामा जाने निर्णय पनि गरेको छ । सो विषयमा कानूनी र राजनैतिक लडाइँ लड्ने पाठकले बताउनुभयो ।
बैठकले हेटौँडाबाट निर्णय भएका निर्णयहरूलाई कार्यान्वयनमा लैजाने प्रवक्ता पाठकले बताउनुभयो ।











प्रतिक्रिया