– निशानदाजु भट्टराई
घोराही, ५ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालकसँग विना रसिद असुलेको रकमसहित दाङकी प्रहरी प्रमुख दुर्गा सिंहले नियन्त्रणमा लिएकी छन् ।
जरिवाना भन्दै बिना रसिद रकम असुलेको आफूलाई सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताइन् । गलत काम गर्ने प्रहरी वा जो कोही भएपनि त्यसै नछाड्ने एसपी सिंहले चेतावनी दिइन् । कानुनभन्दा माथि कोही नरहेको भन्दै गलत काम गर्नेलाई नछोड्ने उनको अडान छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान गोपालराज कुँवरलाई चालकसँग बिना रसिद असुलेको ७ सय रुपैयाँसहित जिल्ला प्रहरी प्रमुख एसपी सिँहले नियन्त्रणमा लिएकी हुन् ।
घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवरले एउटा ट्रकसँग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालकसँग लाइसेन्स नभएको भन्दै ५ सय रुपैयाँ असुलेको पाएपछि प्रहरी प्रमुख सिँह आफै गएर डिउटिमा खटिएका कुवरलाई नियन्त्रणमा लिएकी थिइन् ।
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको पाइएको र उनलाई कारवाहीका लागि निलम्बन गरिएको एसपी सिंहले जानकारी दिइन् ।
६ महिनालाई निलम्बन गरिएको र सो अबधिमा आवश्यक बिभागीय छानविन हुने र त्यसपछि कारवाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ ।
सोमबार बिहान ६ बजे देखी १० बजे सम्म कुँवरलाई जिल्ला ट्राफिक कार्यालय दाङले शहिद गेटमा डिउटी खटाएको थियो । केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर आज पहिलोपटक बाहिरी डिउटीमा खटिएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताए ।
















प्रतिक्रिया