१० मंसिर २०८३, बिहिबार

देउवालाई पूर्व प्रधानमन्त्रीहरुको सुझावः देशको हित र तराई डुबाउने बाँधबारे मोदीसँग कुरा गर्नुस्

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्रीहरुले आगामी भदौ ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई देशको हितलाई केन्द्रमा राखेर कुरा गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार अपराह्न पूर्वप्रधानमन्त्रीहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर आफ्नो भ्रमणबारे रायसुझाव लिएका हुन् । देउवालाई सुझाव दिँदै पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले भारत भ्रमणको बेला तराई डुबाउने सीमामा निर्मित बाँधबारे स्पष्ट रुपमा कुरा राख्न आग्रह गरे । द्धिपक्षीय सम्बन्ध र आपसी हितलाई ध्यानमा राखेर कुरा गर्न उनले सुझाव पनि दिए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्ध प्रगाढ र सुमधुर बनाउनुपर्नेमा जोड दिए । त्यस्तै उनले नेपाल–भारतवीच भएका विगतका समझदारीहरु कार्यान्वयन गर्नुपर्नेतिर भ्रमण केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले द्धिपक्षीय सम्बन्ध र आपसी हितकै बारेमा र अन्य विषयमा खुलेर कुरा राख्न सुझाए । उनले प्रधानमन्त्री देउवाले अघि सारेका भ्रमणका एजेण्डाका बारेमा कुनै पनि आपत्ति नभएको जनाए ।

अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले दुई देशवीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका थिए ।