काठमाडौं, ३ भदौ । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत पुगाउन प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले सहयोग रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्नु भएको हो ।
कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट रु ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरी कुल रु ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको छ ।
कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको बताउनुभयो ।
बाढी पहिरो पीडित व्यक्तिहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहनेका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, सिंहदरबार’को नाममा ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर ‘०४११०१००००००५’ मा बैकका सम्पूर्ण शाखाबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।















प्रतिक्रिया