१० मंसिर २०८३, बिहिबार

राप्रपाको हेटौँडा बैठकमा गणपूरक संख्या पुगेन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आवश्यक संख्या नपुगेको आरोप लागेको छ ।

अध्यक्ष कमल थापाको गृहनगर हेटौँडामा बिहीबारदेखि सुरु भएको राप्रपा केन्द्रीय कार्यसमिति बैठकमा आवश्यक संख्या नपुगेको राप्रपा (प्रजातान्त्रिक)ले आरोप लगाएको छ । राप्रपा (प्रजातान्त्रिक) निकट मानिने नेता सुरेशप्रसाद आचार्यले आफ्नो फेसबुक वालमा स्ट्याटस लेखेर बैठकका लागि गणपूरक संख्या नपुगेको दाबी गरेका हुन् ।

हेटौँडामा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूको उपस्थितिका सम्बन्धमा स्थानीय पत्रकारहरूले हेर्न माग्दा राप्रपाले निर्णयपुस्तिका हेर्न नदिएको आरोप पनि छ ।

तर, राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले बैठकमा आवश्यक गणपुरक संख्याभन्दा धेरै केन्द्रीय सदस्य सहभागी रहेको दाबी गर्नुभएको छ । ‘बैठकमा १ सयभन्दा धेरै केन्द्रीय सदस्य हुनुहुन्छ’, उहाँले दाबी गर्दै भन्नुभयो, ‘पशुपति शम्शेर राणा समूहसँग ४० प्रतिशत केन्द्रीय सदस्य छैनन् ।’

राणा समूहका नेता आचार्यले आफ्नो स्ट्याटसमा लेख्नुभएको छ, ‘राप्रपा केन्द्रय समितिको बिहीबार हेटौडामा भएको बैठकले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दूराज्य र राजसंस्थाको वाक्यांश हटाएर मात्रै पार्टी दर्ता गरेको, अध्यक्षले उपप्रधानमन्त्री हुँदा संघीय गणतान्त्रिक संविधानलाई विश्वकै उत्कृष्ट संविधान भनेको र राजाले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएको कुरालाई बिर्सिएर वा बुझ पचाएर हिन्दूराज्य र राजसंस्थाप्रति प्रतिबद्ध रहेको कुरा कुन मुखले गरेको होला ?’

‘बैठकको “गणपुरक संख्या’ नै नपुगेको बैठकले राप्रपालाई मूलधार दावी गर्दै विभाजनमा लागेकालाई फर्किन गरेको अह्वान झनै हास्यास्पद बन्न पुगेको छ । स्थानीय पत्रकारलाई उपस्थितिको माइन्यूटको तस्बिर समेत खिच्न नदिएकोमा गुनासो गरेका छन् । गणपुरक संख्या कुल केन्द्रीय सदस्य १५६ जनाको ५१ प्रतिशत पुगेमात्रै बैठकले बैधानिकता पाउछ भन्ने पनि सुनियो’, नेता आचार्यले आफ्नो स्ट्याटसमा भन्नुभएको छ ।

यता, राणा समूहले आफूहरूसँग भदौ ४ गतेका लागि आवश्यक ४० प्रतिशत संख्या पर्याप्त रहेको भन्दै ढुक्का साथ बसेको छ । स्रोतका अनुसार राणा समूहले राप्रपाबाट ५१ प्रतिशत केन्द्रीय सदस्य र सांसद ल्याएर निर्वाचन आयोगमा सनाखत गरेर संस्थापन बन्ने योजनामा लागेको छ ।

राणा समूहलाई निर्वाचन आयोगले भदौ ४ गते ४० प्रतिशत केन्द्रीय सदस्यहरूलाई उपस्थित गराएर सनाखत गराउन आदेश दिइसकेको छ ।

यसैबीच, बिहीबारको बैठकमा केन्द्रीय सदस्य बालाराम घर्ती मगरले चुनाव चिन्ह हलोलाई लिएर कडा अभिव्यक्ति दिएको उच्च स्रोतले जनाएको छ । ‘अध्यक्षज्यू तपाईले विगतमा गरेको सहमति कार्यान्वयन गर्नु भएन’, उहाँको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हलो चुनाव चिन्ह प्रयोग गर्ने विषयमा अग्रसर देखिनु भएन । पार्टी विभाजन भयो । विभाजित भएर जाने नेताहरूलाई ल्याउने प्रयास गर्नु भएन ।’