– सुदीप अधिकारी
बर्दिया, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपिडितलाई दिइने सहयोगमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
बबइ नदीको बाढीले पुर्याएको क्षती निरिक्षण तथा राहत हस्तान्तरण गर्न बिहीबार सदरमुकाम गुलरिया आएका प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘तपाईहरु चिन्ता नमान्नुस् । सरकारले सहयोगमा कुनै कमी गर्ने छैन,’ प्रधानमन्त्री देउवाले बाढीपिडितलाई भने । बाढीपिडितलाई धैर्यता अपनाउन उनले आग्रह गरे । बबई नदीमा तटबन्धन बनाउने पनि उनले प्रतिवद्धता जनाएका छन् । बबई नदीमा तटबन्धन बनाउने काम प्रथमिकताका साथ अघि बढाइने बताए ।
बबई नदीमा व्यवस्थित तटबन्धन नहुँदा बबईको बाढी सदरमुकामसहित आसपासको बस्ती पसेर ठूलो क्षती पुर्याएको हो । प्रधामन्त्री देउवाले बबई नदीले पुर्याएको क्षतीप्रति दुःख व्यक्त गरे । प्रधानमन्त्री देउवाले बाढीबाट ज्यान गुमाएका पिडितका परिवारलाई सरकार घोषण गरेको क्षतीपूर्ती रकम तत्काल उपलब्ध गराइने र घाइते र अंगभंग भएकाहरुलाई पनि सरकारले सहयोग गर्ने बताए ।
प्रधानमन्त्री देउवाले बाढीपिडितका लागि ल्याइएको २ सय क्युन्टल चामल र अन्य राहतका सामग्री गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवलाई हस्तान्तरण गरे । विहान साढे नौ बजे बर्दिया आउने कार्यक्रम भएपनि ३ घण्टा ढिलो प्रधानमन्त्री हेलिकप्टरबाट सदरमुकाम गुलरिया झरेका थिए । प्रधानमन्त्रीका साथमा सिँचाई मन्त्री संञ्जयकुमार गौतम र प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि थिए । मन्त्री गौतम बर्दियाबासी हुन् ।
साउन २७ र २८ गते आएको अबिरल बर्षाका कारण बबई नदीमा आएको बाढीमा परेर यहाँ ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये १ जनाको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट ५ जना घाइते भएका छन् ।
बाढीका कारण बर्दियामा २ हजार १ सय ७३ घर पूर्ण रुपमा क्षति भएको छ । भने ८ हजार ९ सय ६२ घर आंशिक रुपमा क्षति भएको बताइएको छ । यहाँ ४ हजार ३ सय ८८ घरधुरीका २४ हजार ७ सय ३४ जना विस्थापित भएका छन् । बाढीका जिल्लामा करिव ७५ हजार जनसंख्या प्रभावित भएको बताइएको छ ।














प्रतिक्रिया