काठमाडौं । सानैदेखि फिल्म लेखनमा रुचि राख्ने गरेकी शोभा मिश्रले भोजपुरी फिल्म ‘तोहार खातिर’ निर्माण गरेकी छिन् । लगानी र निर्देशन स्वयंले गरेकी शोभाको यो फिल्म पोष्ट प्रोडक्सनमा छ । फिल्मको प्राविधिक काम भइरहेको उनले बताइन् ।
फिल्मको शूटिङ शोभाले राजधानी र आसपासका स्थानमा गरेकी हुन् । ‘तोहार खातिर’लाई शोभाले पुस महिनाभित्र रिलिजको लक्ष्य राखेकी छिन् । ‘फिल्मको प्राविधिक काम सम्पन्न हुनेवित्तिकै रिलिज गर्ने तयारी गरेका छौँ’, उनले भनिन् । यो फिल्म थर्ड आई फिल्म प्रोडक्सनको दोस्रो प्रस्तुति हो ।
‘तोहार खातिर’लाई शोभाले भोजपुरीमा बनाए पनि नेपाली भाषामा समेत डबिङ गर्ने योजना बनाएकी छिन् । यो उनको दोस्रो फिल्म हो । यसअघि शोभाले भोजपुरीमै ‘दो जिस्म एक जान’ बनाएकी थिइन् ।
‘तोहार खातिर’मा नायिका रोहिणी मिश्र, नायक चन्दन अभिषेश मिश्र, घनश्याम गिरी, दीपेन्द्र सुवेदी, राजन गहतराजलगायतको अभिनय छ । फिल्ममा बिनय बिहारीको संगीत छ ।
सानै उमेरदेखि साहित्यमा रुचि भएकी शोभाको लेखनमा रहेको कथामा अशोक शर्माले आफ्नो ‘अपराध’ नामक टेफिल्ममा छायाँकन गरेका थिए । त्यस बेला शर्माको ‘अपराध’ सिरियल नेपाल टेलिभिजनमा प्रशारण हुन्थ्यो । फिल्म निर्देश शोभाले मुम्बईमा सिकेकी हुन् । थुप्रै फिल्महरूमा सहायक निर्देशकको रुपमा काम गरेको अनुभव शोभासँग छ ।















प्रतिक्रिया