
काठमाडौं । तराईका बाढी र डुबान पीडितलाई कलाकार दीपकराज गिरीले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । दीपकले ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्ने भएका हुन् ।
यस्तै, पछिल्लो समय सफल र चर्चित निर्देशक समेत बनेकी कलाकार दीपाश्री निरौलाले पनि व्यक्तिगत ५१ हजार नगद सहयोग गरेकी छिन् । मोरङ समाजमार्फत बाढी प्रभावितको लागि दीपाश्रीले रकम हस्तान्तरण गरेकी हुन् । उनले भनिन्– ‘तत्कालको लागि यो सानो सहयोगको सुरुवात हो । सबैबाट सानो–सानो सहयोग भयो भने ठूलो बन्नेछ ।’
सहयोगको हात अघि बढाउने क्रममा नायिका प्रियंका कार्की पनि थपिएकी छिन् । उनले पनि नगद ५१ हजार सहयोग गर्ने घोषणा गरेकी छिन् ।
यसैबीच चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो ।















प्रतिक्रिया