काठमाडौं, ३२ साउन । गृहमन्त्री जनार्दन शर्माका सुरक्षा सल्लाहकार पूर्व एआईजी सुरेन्द्रबहादुर शाहले नेपाल प्रहरीका एसएसपी, एसपी र डिएसपी सहितका कर्मचारीलाई राखेर गृह मन्त्रालयमा सचिवालय नै खडा गरेको रहस्य खुलेको छ ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार शाहले नेपाल प्रहरीबाट एसएसपी केदार रिजाल, एसपी मनोज न्यौपाने र डिएसपी वासु पाठकलाई प्रहरी हेडक्वाटरबाट झिकाएर टिम नै गठन गरेका हुन् ।
राजनीतिक नियुक्ति पाएका शाहले प्रहरी नियमवाली विपरित राष्ट्रसेवक प्रहरीहरू राखेर कार्यालय चलाएका कारण त्यसको बिरोध भएको छ । ‘प्रहरी नियमवालीको कुन दफामा त्यस्तो सचिवालयको परिकल्पना छ ? त्यस्तो सचिवालयमा रहने दरवन्दी कहाँबाट कसले दियो ? अनि के अव गृह मन्त्रालयमा मन्त्री फेरिए पिच्छे सल्लाहकार भएर आउनेले प्रहरी अधिकृत सहितको सचिवालय खडा गरेर राख्न पाउने हुन् ?’ भन्दै सामाजिक सञ्जलबाट गृहमन्त्री जनार्दन शर्मा र शाह नेतृत्व समूहको आलोचना भैरहेको छ ।
गृहमन्त्री र पूर्व एआईजी शाहको यो कार्यले नयाँ शक्ति केन्द्रको अभ्यास हुने खतरा समेत पैदा भएको गुनासो प्रहरी मुख्यालय नक्सालमा हुन थालेको स्रोतको भनाइ छ ।
त्यसो त, गृह मन्त्रालयको सुरक्षा सल्लाहकार पूर्व एआईजी शाह गृहमन्त्री शर्माका जिल्लाबासी एवम् स्कुले सहपाठी पनि हुन् । गृहमन्त्री शर्मा लेखा समितिको सभापति हुँदा हालका आईजीपी प्रकाश अर्यालको ३३ किलो सुनकाण्डको अनुसन्धान गरेका थिए ।
त्यतिखेर शर्माले पूर्व आईजीपी उपेन्द्रकान्त अर्याललाई फालेर शाहलाई आईजीपी बनाउन खोजेका पनि थिए । तर, शर्मा सफल हुन सकेनन् ।
आईजीपी बनाउन नसकेपछि शर्माले शाहलाई सुरक्षा सल्लाहकार बनाइ उपेन्द्रकान्त अर्याललाई दरो जवाफ दिएर प्रहरीमा ठाडो हस्तक्षेप गरेको चर्चा हुन थालेको छ ।
सुरक्षा सल्लाहकारको हैसियत राज्यमन्त्री सरह हुने भएपछि आईजीपी प्रकाश अर्यालले गर्ने कुनै पनि काममा अब सिधै शाहले रोक्न सक्ने छन् ।
आईजीपी अर्यालका अघोषित सल्लाहकार उपेन्द्रकान्त अर्याल हुन् । उपेन्द्रकान्त र शाहको सम्बन्ध कहिल्यै पनि राम्रो हुन नसकेनको प्रहरी मुख्यालयमा अहिले पनि कुरा हुने गरेको स्रोतको भनाइ छ ।
संगठनमा हुँदा संगठन प्रमुखलाई फालेर नेतृत्व हत्याउने निरन्तर प्रयास गर्ने शाह गृहमन्त्रीको सल्लाहकार भएपछि उनले प्रहरी संगठनमा रहँदाको ‘तुष’ पोख्ने सल्लाह दिन थालेको र अहिले गठन गरेको टिम पनि त्यसैको एउटा उदाहरण रहेको एक उच्च प्रहरी अधिकारीले बताए ।











प्रतिक्रिया