काठमाडौं, ३१ साउन । नेपाल सरकारले चीनसँग तीनवटा महत्वपूर्ण सम्झौता गरेको छ । समझदारीमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यु जियाङहुवाले हस्ताक्षर गरे ।
सोमबार चारदिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं आइपुगेको चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच मंगलबार सोल्टी होटलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीच पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता भएको छ ।
पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गरेका छन् ।
तातोपानी नाका खोल्न चीन तयार
सम्झौता पत्रमा हस्ताक्षरअघि भएको द्विपक्षीय वार्तामा चीन भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ ।
तातोपानी नाका सञ्चालनमा ल्याउन नेपालले पुनः आग्रह गरेपछि चीनले सैद्धान्तिक सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
















प्रतिक्रिया