काठमाडौँ, ३० साउन । नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिँदै पत्रकारहरुबीच चुनावी सरगर्मी बढेको छ ।
नेपाली काँग्रेस निकटको प्रेस युनियन र माओवादी केन्द्रको प्रेस सेन्टरबीच चुनावी तालमेल भएको छ भने एमाले निकट प्रेस चौतारीले अन्य साना बाम संगठनसँग तालमेल गरेको छ ।
सत्तारुढ गठबन्धनको तालमेल अनुसार, प्रेस युनियनले माओवादी केन्द्र समर्थित प्रेस सेन्टरका गोविन्द आचार्यलाई अध्यक्षमा सघाएको छ । तर, आचार्यलाई अध्यक्षमा प्रेस सेन्टरकै उजीर मगरले चुनौती दिएका छन् । वर्तमान महासचिव समेत रहेका मगरले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनी यसअघि प्रेस सेन्टरबाटै विजयी भएका थिए ।
अध्यक्षमा माओवादी केन्द्र निकट प्रेस सेन्टरलाई सघाउ गरेको काँग्रेस निकट प्रेस युनियनले उपाध्यक्षमा विपुल पोखरेललाई उमेदवार बनाएको छ । तालमेल अनुसार अध्यक्षमा आचार्य र उपाध्यक्षमा पोखरेलले आ–आफ्नो समूहको नेतृत्व गर्ने छन् । पोखरेल पत्रकार महासंघका पूर्वक्षेत्रीय उपाध्यक्ष समेत हुन् ।
यसैगरी, प्रेस युनियनले महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल र कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ ।
यता, एमाले निकट प्रेस चौतारीले भने वरिष्ठ पत्रकार तीर्थ कोइरालालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रेस चौतारीले कोइरालाको उम्मेदवारी घोषणा गरेको हो । कोइरालालाई विप्लव माओवादी निकट पत्रकार संगठनले समर्थन गरेको छ ।











प्रतिक्रिया