काठमाडौं, २९ साउन । तराईसहित देशभरका बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि नेपाली सेनाले हेलिकप्टरसहित २ हजार १ सय जवान परिचालन गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार साउन २७ गतेको मध्य रातदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षती न्युनिकरण एवं खोज, उद्धार तथा राहतको लागि नेपाली सेनाका करिव २,१०० जना उद्धार टोलीहरु आवश्यक उद्धार सामाग्री सहित निरन्तर रुपमा सक्रियताका साथ खटिईरहेका छन् ।
आइतबार झापा जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले जिल्लाको सिवसतासी न.पा. वडा नं.४ मा डुवानमा परेका २६८ जना र सुनसरी जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले जिल्लाको विभिन्न स्थानमा डुवानमा परेका ५५० जनालाई सुरक्षित स्थानमा सार्न मद्दत गरेको छ । आज दिनभरिमा देश भरिका विभिन्न स्थानमा डुवानमा परेका करिव एक हजार भन्दा बढी व्यक्तिहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा सार्न मद्दत गरेको छ ।
त्यसैगरि, बारा जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले लालबकैया खोलामा बाँध निर्माणमा सहयोग गर्नुको साथै चुरियामाई ईलाका र मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले भीमफेदी (गुप्तेश्वर) ईलाकामा पहिरोबाट अवरुद्ध भएको सडक खुलाउने कार्य गर्नुको साथै, चितवन जिल्लाको जगतपुर ईलाकामा फसेका करिव ३०० जना विद्यार्थीहरुलाई काठमाडौंबाट एमआई–१७ हेलिकप्टरमा गएको विशेष उद्धार सामाग्री सहितको टोलीले उद्धार कार्य गरि रहेको छ ।
खोज तथा उद्धारकै क्रममा बाँके जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले डुवानका कारण विस्थापित भएका जनताहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा मद्दत गर्नुको साथै, बैजपुर र फत्तेपुर लगायतका इलाकामा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ भने सल्यान जिल्लामा तैनाथ युनिटबाट खट्टिएका उद्धार टोलीले पहिरोमा पुरिएको गाडीबाट एक जनाको शव निकाल्न सहयोग गरेको छ ।
खोज, उद्धार तथा राहतकै क्रममा माथी उल्लेखित जिल्लाहरुको अलावा पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङ लगायतका जिल्लाहरुमा उद्धारका सामग्रीहरु सहितको नेपाली सेनाका उद्धार टोली खट्टिई तदारुकताका साथ खोज, उद्धार तथा राहत कार्यमा जुटी रहेका छन् ।













प्रतिक्रिया