काठमाडौं, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगप्रति गम्भीर आरोप लगाउँदै सत्ता र शक्तिको लाचार छायाँको रुपमा परिणत भएको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष थापाले आइतबार बेलुकी विज्ञप्ति जारी गरेर आयोगले सत्ताको अगाडि संविधान र कानूनसम्मत निर्णय गर्न नसकेको आरोप लगाउनुभएको हो ।
‘विगतमा समेत विभिन्न निर्णयहरूका कारण विवादमा परेको निर्वाचन आयोगले राप्रपा विभाजनका सम्बन्धमा हालै गरेको अस्थिर निर्णयहरू संविधान र प्रचलित कानून र स्थापित नजिर विपरित रहेका छन्’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष थापाले आयोगले पशुपति शम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक)लाई ४० प्रतिशत नपुग्दा पनि नयाँ दल दर्ताको मान्यता दिएको आरोप लगाउनु भएको छ ।
‘आयोगले गरेको निर्णय संविधान र कानून विपरित तथा पार्टी पद्दतिलाई कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको छ’, अध्यक्ष थापाले विज्ञप्तिमा भन्नुभएको छ, ‘जसरी भएपनि राप्रपालाई फुटाएरै छाड्ने वर्तमान सरकार र शक्तिकेन्द्रको मतियार र लाचार छायाँको रुपमा देखिनु दुर्भाग्यपूर्ण छ ।’











प्रतिक्रिया