१ कार्तिक २०८३, आइतबार

रजत महोत्सवमा टेबल टेनिस प्रतियोगिता हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको रजत महोत्सवको अवसरमा “प्रथम उपत्यकाब्यापी अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगिता” २०७४ श्रावण २८ गते शनिबार हुने भएको छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले विद्यार्थीहरुनै आफ्ना प्रमुख उपभोक्ता रहेका कारण रजत महोत्सवको अवसर पारेर स्वस्थ नागरिक उत्पादनको क्षेत्र खेलकुदलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रिय अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सुनिल गोपाल श्रेष्ठले जानकारी गराए ।

संघले युनाईटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरस्थित आफ्नै सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो । खुला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा ३५ स्कुलका ७० महिला र १४० पुरुष खेलाडीहरुले १२ बर्ष मुनि र १६ बर्ष मुनिको एकल गरि ४ स्पर्धामा प्रतिस्पर्धा गर्ने संयोजक एवं नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका क्षेत्रीय अध्यक्ष विजेन्द्र विक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी गराए ।

समय तथा स्थान अभावका कारण ४ स्पर्धालाई मात्र प्रतियोगितामा समाविष्ट गर्न परेको प्रतियोगिता संयोजक राकेश महर्जनले बताए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा स्पिन ईभेन्ट प्रा.लि.ले आयोजना गर्ने प्रतियोगिताको अनुमानित लागत १ लाख रहेको छ ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विजयी खेलाडी तथा टिमले मेडल, प्रमाण पत्र, खेल सामाग्री तथा ट्रफी प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उदियमान खेलाडीले मेडल र प्रमाण पत्र र खेल सामाग्री प्राप्त गर्नेछन् भने सहभागी सम्पूर्ण खेलाडी तथा स्कुललाई प्रमाण पत्र प्रदान गरिने छ ।

अध्यक्ष श्रेष्ठले नाफा मात्र नभई सामाजिक कार्यमा समेत समर्पणको महसुस गर्दै संघले कुनै पनि बिद्यार्थी शैक्षिक सामाग्रीका माध्यमले शिक्षा हासिल गर्नबाट बञ्चित नहुन भन्ने भावनाले नेपालका विभिन्न स्थानमा रहेका आर्थिक अभावका विद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री वितरण गर्नुका साथै विचार गोष्ठी, रक्तदान जस्ता सामाजिक कार्यमा समेत संघलाई अग्रसर गराउने बताए ।