१० मंसिर २०८३, बिहिबार

राजपालाई झलनाथको सुझावः कांग्रेसले छलछाम गर्दैछ, विचार गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २५ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अघि संविधान संशोधन हुनै नसक्ने बताउनुभएको छ ।

एमाले प्रदेश नं १ को पार्टी प्रशिक्षणका क्रममा इलाम आइपुग्नुभएका नेता खनालले आज पत्रकारसँग कुरा गर्दै अब माघ ७ गतेभित्र दुवै तहका निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

तोकिएको मितिमै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको भन्दै उहाँले २ नं प्रदेशमा राजपालाई निर्धक्क भएर चुनावमा जान सुझाव दिनुभयो ।

नेता खनालले सत्तामा रहेको काँग्रेसले छलछामको राजनीति गरिरहेको र त्यसैकारण राजपालाई चुनावमा आउन नदिने दाउमा लागेको आरोपसमेत लगाउनुभयो ।

एमाले निश्चित संकल्प बोकेर हिँडिरहेको बताउँदै उहाँले अब हुने २ नं प्रदेशको निर्वाचनमा पार्टीका सबै नेता कार्यकर्तालाई केन्द्रित हुन आग्रह गर्नुभयो ।

एक फरक प्रसंगमा उहाँले अनशनरत डा गोविन्द केसीलाई अनशन छाडेर बिरामीको उपचारमा खट्न आग्रह गर्नुभयो ।

“डा. केसीको अनशनमा धेरै डाक्टर भुलिएका छन्, जसले गर्दा उपचार गर्न जाने बिरामीले पनि उपचार पाएका छैनन्,” उहाँले भन्नुभयो – “डा. केसीका कतिपय माग जायज छन् र कतिपय माग बेठिक पनि छन् । जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्छ ।” रासस