१० मंसिर २०८३, बिहिबार

जिल्ला अध्यक्षहरू निर्वाचनको पक्षमा, केन्द्रीय समितिको निर्णयप्रति अनभिज्ञता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २५ साउन । राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला अध्यक्षहरूले निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषयमा नेतृत्वलाई गोलमटोल सुझाव दिएका छन् ।

बबरमहलस्थित पार्टी मुख्यालयमा बुधबार अध्यक्षमण्डलका अध्यक्षहरूसँग भएको जिल्ला अध्यक्षहरूको आन्तरिक छलफलमा अध्यक्षहरूको मिश्रित प्रतिक्रिया आएको हो । सुझाव दिने अधिकांश जिल्ला अध्यक्षहरूले निर्वाचनमा केही सर्तहरू राखेर सहभागी हुन नेतृत्वलाई सुझाव दिएको एक नेताले जानकारी दिए ।

‘निर्वाचनलाई बहिष्कार गर्ने कुरा आए पनि कसरी बहिष्कार गर्ने भन्ने विषयमा अध्यक्षहरूको स्पष्ट सुझाव थिएन’, एक नेताले भने, ‘तर, सरकारसँग केही सर्तहरू राखेर निर्वाचनमा जान सकिने कुरामा भने जिल्ला अध्यक्षहरू सकारात्मक छन् ।’

महासचिव केशव झाले जिल्ला अध्यक्षहरूले संगठन निर्माणमा जोड दिनुपर्नेमा सुझाव दिएको जानकारी दिनुभयो । ‘राजपा नेपाललाई संगठनात्मक रुपमा मजबुद बनाउने सुझाव आएको छ’, उहाँले भन्नुभयो, ‘शीर्ष नेताहरूलाई संगठन निर्माणमा केन्द्रित हुन धेरै जिल्ला अध्यक्षहरूले सुझाव दिनुभएको छ ।’

जिल्ला अध्यक्षहरूसँगको आन्तरिक छलफलमा अध्यक्ष महन्थ ठाकुर, अध्यक्षमण्डलका अध्यक्षहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिलकुमार झा तथा केही पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

यसअघि मंगलबार सम्पन्न केन्द्रीय समितिका निर्णयका विषयमा पनि छलफल भएको थियो । राजपा नेपालको केन्द्रीय समितिको बैठकले के निर्णय गरेको हो भनेर जिल्ला अध्यक्षहरूले बुधबार अध्यक्षहरूसँगको छलफलमा जिज्ञासा समेत राखेका थिए । एकजना जिल्ला अध्यक्षले भने, ‘केन्द्रीय कार्यसमितिले के निर्णय गरेको हो मैले त बुझेन । अध्यक्षमण्डलहरूसँगको छलफलमा के–के निर्णय भयो भनेर सोधेका थिएँ ।’

केन्द्रीय कार्यसमितिले के–के निर्णय गरेको हो राजपा नेपालले औपचारिक रुपमा केही जानकारी दिएको छैन । बैठकपछि विज्ञप्ति समेत जारी भएको छैन ।