काठमाडौं, २५ साउन । आगामी असोज २ हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका सिलसिलामा अधिकांश दलका नेता कार्यकर्ता अहिले तराईका ८ जिल्लामा खटिएका छन् ।
यसक्रममा नेकपा एमालेका नेता कार्यकर्ता पनि ८ जिल्लामा पुगिरहेका छन् । ८ जिल्ला घुमेर भर्खरै काठमाडौं फर्केका एमालेका एक युवा नेताले तराईमा एमाले होइन् कांग्रेस मधेसी जनताको निशानामा रहेको अनुभव सुनाएका छन् ।
यस्तो अनुभव सुनाउने नेता हुन एमाले सचिव गोकर्ण विष्ट । उनले आफूले एमालेको कोणबाट नभई मधेसको धरातलीय यथार्थमा टेकेर कांग्रेस साँच्चै मधेसी जनताको निशाना रहेको बताए । कांग्रेसप्रति मधेसी समुदायको चर्काे आक्रोश र असन्तुष्टि रहेको उनको बुझाई छ ।
एमाले आफ्नो अडानमा स्पष्ट भएको तर कांग्रेस माओवादीले संविधान संशोधनमार्फत माग पूरा गर्ने भनेर सत्ता प्राप्त गरी आफ्नो भावनामाथि खेलवाड गरेको बुझाई मधेसी जनतामा रहेको र यसले कांग्रेसविरुद्ध आक्रोश बढाएको नेता विष्टको ठम्याई छ ।
‘मधेसी समुदायका अगुवा र बौद्धिक व्यक्तिहरुले एमालेले ढाँटेन भनेर बोलिरहेका बेला मधेसी जनताले पनि यो बुझिसकेका रहेछन् । एमाले मधेसी विरोधी हो भन्ने भ्रम पनि उनीहरुबाट हटेको मैले पाए,’ विष्टले भने– ‘कांग्रेस र माओवादीले मधेसीको भावनामाथि खेलेर पालैपालो सत्ता सुख भोग गर्ने तर प्रतिवद्धता पूरा नगरी झुक्याउने काम गरेको भन्ने गुनासो धेरै छ ।’
आगामी चुनावमा मधेसी जनताले कांग्रेससँग बदला लिने तयारी गरेको टिप्पणी गर्दै विष्टले संविधान संशोधनका साथसाथै चुनाव सारेकोमा पनि मधेसमा कांग्रेस माओवादी गठबन्धप्रति आक्रोश बढेको आफूले पाएको बताए ।
‘१२७ सीटमध्ये १०० सीट जित्ने लक्ष्य राखेको कांग्रेस पार्टीकै कार्यकर्तादेखि जनतासम्म पटक–पटक चुनाव सारेको, संविधान संशोधन नगरेको र २ नम्बर प्रदेशलाई अलग व्यवहार गरिएकोप्रति असन्तुष्ट छन्,’ उनले भने– ‘त्यो आक्रोश कांग्रेस र माओवादीप्रति छ, एमाले वा मधेसवादी दलप्रति होइन ।’












प्रतिक्रिया