
भरतपुर, २१ साउन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन् ।
शनिबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार मेयरमा पदमा दाहालले ४३ हजार १२७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि परेका हुन् ।
मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि परेका हुन् । वडा नं २० को गणना अन्तिममा गरिएको थियो । यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेका छन् ।
यसैगरी, भरतपुर महानगरपालिकाको उपमेयर पदमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन् । उनले ४७ हजार १९७ मत प्राप्त गरिन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् । यस्तै, राप्रपाकी उपमेयर उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरिन् ।
भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई मेयर र काँग्रेसलाई उपमेयर पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।
प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् ।
पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका थिए, जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन । उक्त मत पनि शनिबार गणना गरिएको हो ।
एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो ।
पुनः मतदानबाट काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर–१९ को मतपत्र च्यातिएपछि काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संयुक्तरुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए ।











प्रतिक्रिया