काठमाडौं, २० साउन । गृहमन्त्री जनार्दशन शर्माले गृह मन्त्रालयको सुरक्षा सल्लाहकारमा आफ्ना जिल्लाबासी एवम् विद्यालयका सहपाठी पूर्व एआईजी सुरेन्द्रबहादुर शाहलाई नियुक्त गरेर पार्टीका होनहार कार्यकर्ताहरूको मन दुःखाएको परिसडाँडामा चर्चा हुन थालेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री शर्माको सुरक्षा सल्लाहाकारमा आफ्ना साथी शाहलाई नियुक्त गरेपछि माओवादी केन्द्रभित्र ठूलो विवाद हुन पुगेको उच्च स्रोतले जनाएको छ । शाहले पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै उमेर हदका कारण अनिर्वाय अवकाश पाएका थिए ।
मन्त्री शर्माले उर्जा मन्त्री भएका बेला आफ्नै सहोदर भाई ओपेन्द्र शर्मालाई राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमामा नियुक्त गराएका थिए । मन्त्री शर्माले आफ्नै भाईलाई राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमामा नियुक्त गरेपछि माओवादी केन्द्रका होनहार र वरिष्ठ पत्रकारहरू चर्को विरोध समेत गरेका थिए । यद्यपि मन्त्री शर्माले विरोधको बेवास्ता गरेको एक माओवादी पत्रकारले बताए ।
गृहमन्त्री शर्मा लेखा समितिको सभापति हुँदा हालका आईजीपी प्रकाश अर्याललाई ३३ किलो सुनकाण्डमा फसाउन मुख्य भूमिका खेलेको आरोप शाहमाथि लाग्दै आएको छ । ३३ किलो सुनकाण्डको अनुसन्धानको जिम्मेवारी शर्माका विद्यालयका साथी समेत रहेका शाहले पाएका थिए ।
लेखा समितिको सभापति हुँदा शर्माले तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्याललाई फालेर शाहलाई आईजीपी बनाउन खोजेका थिए । तर, शर्मा सफल हुन नसकेको स्रोतको भनाइ छ ।
शाहलाई त्यस बेला आईजीपी बनाउन नसकेपछि गृहमन्त्री शर्माले अहिले उनै सुरेन्द्रबहादुर शाहलाई सुरक्षा सल्लाहकार बनाएर उपेन्द्रकान्तलाई ‘मुखैभरि’को जवाफ दिएका छन् ।
गृहमन्त्री शर्माले शाहलाई राज्यमन्त्री सरह सुविधा दिने गरी सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन् । सबै सुरक्षा निकायलाई शाहमार्फत कन्ट्रोल गर्ने योजनामा शाह रहेको स्रोतको भनाइ छ ।
नेपाल प्रहरीको संगठनमा रहँदा शाहले खासै राम्रो काम गर्न नसकेको आरोप लाग्दै आएको छ । शाहका विरुद्ध सामाजिक सञ्चालहरूमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले बिषवमन गर्न थालेका छन् ।
गृहमन्त्री शर्माले शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू असन्तुष्ट रहेको माओवादी उच्च स्रोतले जनाएको छ ।











प्रतिक्रिया