१० मंसिर २०८३, बिहिबार

आयल निगमले साढे ३० करोडमा खरिद गरेको जग्गामा रोहिणीको भेल उर्लियो (फोटो फिचर)

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २० साउन । नेपाल आयल निगमले तेल भण्डारण गर्नको लागी करिब ३२ करोड मुल्यमा खरिद गरेको जग्गामा रोहिणी खोलाको भेल उर्लिएको छ ।

हिजोदेखी परेको सीमसीमे पानीको कारण भैरहवा नजिकैको उक्त रोहिणी खोलाको बगरमा अहिले खोलाको बहाव देखिन्छ । रोहिणीको बहाव आयल निगमले खरिद गरेको जग्गाभन्दा अझैमाथि पुर्व पट्टिसम्म पुगेको देखिएको छ । आयल निगमले जग्गा खरिद गर्दा जग्गा खरिद ऐन अनुसार नगरी सिधैं दलाल मार्फत उक्त जग्गा खरिद गरेको थियो ।

आयल निगमले गत असार २८ गते जिल्ला मालपोत कार्यलय भैरहवाबाट १४ विगाह ७ कठ्ठा जग्गा आफ्नो नाममा पास गरेको थियो । सो जग्गा खरिद गर्दा निगमले ३० करोड ४२ लाख २५ हजार मूल्य नगद भुक्तान गरेको छ । यद्यपी जग्गा विक्रेताहरुले करिब ८ करोड मात्रै पाएका छन् । अरु सबै विचौलियाले खाएका छन् ।

यसरी करोडौं मूल्य तिरेर १५ दिन अगाडी खरिद गरेको जग्गामा बाढीको भेल उर्लेको देखेर रोहिणी क्षेत्रका जनता र नागरिक अगुवा आश्चर्यचकित भएका छन् । त्यस क्षेत्रका नागरिक अगुवा प्रदीप पाण्डेले भने– “यस्तो ठाउमा जग्गा किनेर निगमले ठुलो गल्ती गरेको छ । यस्तो गलत काम तत्काल बदर गरिनुपर्दछ ।”

नेकपा माओवादी केन्द्रका तर्फबाट रोहिणी गाउपालिकामा अध्यक्ष पदका प्रत्यासी समेत रहेका पाण्डले रोहिणी खोलो देखाउदैं भने “तपाइ हेर्नुस, यस्तो समुन्द्र जस्तै भएको ठाउमा कसरी तेल भण्डारण हुन्छ । म त भन्छु , भुमाफियाको चंगुलमा फसेर वा मिलोमतोमा करोडौं मुल्यमा जुन यो जग्गा खरिद भएको छ त्यो विषयमा हाम्रो पाटिका मन्त्री शिवशंकर मण्डलले एक्सन लिइसक्नु भएको छ । म यहीबाट अपील गर्न चाहन्छु । रोहिणी क्षेत्रका जनताको तर्फबाट की यो जग्गामा कुनैपनि हालतमा निगमको भण्डारण हुनै सक्दैन । अबैधानिक ढंगले खरिद गरेको उक्त जग्गामा पहिलो जनता ठगीएका छन् दोस्रो मुलुक नै ठगीएको छ । किनकी जनतासंग साढे ३ लाखमा खरिद गरेर र्पाैने ११ लाख प्रतिकठ्ठामा निगमलाई दलालले जग्गा बेचेका छन् । दोस्रो खोलामा तेल भण्डारण हुनै सक्दैनन ।”

रोहिणी गाउपालिका वडा नम्बर २ का निर्वाचित अध्यक्ष सरोज कुमार पाण्डेले दलालहरुले पैसाकोलागी देश नै बेच्छन् भन्ने प्रमाण अहिले आयल निगमकोलागी उनीहरुले बेचेको जग्गामा बाढीको भेल देखिनुले प्रमाणीत गरेको बताए । अध्यक्ष पाण्डेले रोहिणी गाउपालिकाले स्थानिय कानुन भित्र रहेर मुलुकको धुकुटी नै रित्याउनेगरी गरेको चलखेलको नतिजा देखिएको पनि जनाए । ‘जनता ठग्ने दलाललाई हामी खोजिरहेका छौं । प्रमाण सहित कारबाहिकोलागी पठाउदैंछौं । यस्तो बाढी हरेक वर्ष आउंछ । यस्तो बाढी आउने ठाउमा कसरी तेलको भण्डारण बन्छ । निगमलाई जग्गा चाहिएको हो भने निगमले तिरेको मूल्य भन्दा सस्तोमा अब्बल जग्गा हाइवेमा नै दिलाउन सक्छौं हामी ।”

आयल निगमले खरिद गरेको जग्गामा रोहिणीको भेल उर्लेको सुनेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी जिल्लाका सुरक्षा अधिकारी सहित सो ठाउको निरीक्षणमा शुक्रबार करिब १२ बजे पुगेका थिए । सो ठाउको निरिक्षण पश्चात प्रजिअ विनोद प्रकाश सिंहले भने ‘खोलाको बहावको कारण आयल निगमले खरिद गरेको जग्गा नै देखिदैंन । सबै खोलोले ढाकेको छ । त्यो ठाउमा आयल निगमले भण्डारण बनाउने नै हो भने पनि तटबन्ध गर्नुपर्छ । पारीपट्टि तटबन्ध गरियो भने एकातिर रोहिणी पुल नै खतरामा पर्छ भने अर्कोतिर वारीपट्टिको गाउ नै बच्दैन ।”

यसरी भएको थियो जग्गाको खरिद

मुलुकका ७ वटै प्रदेशमा तेल भण्डारण गर्ने ध्ययले नेपाल आयल निगमले बोलपत्र आहवन गर्यो । त्यसैअनुसार २०७३ मंसिर २९ गते ५ नम्बर प्रदेशकोलागी रुपन्देहीमा जग्गा चाहिएको भन्दै बोलपत्र जारी भयो । बोलपत्रमा जग्गाको विवरण क्षेत्रको रुपमा रुपन्देही जिल्लाको नेपाल भारत सीमा बेलहिया भन्सारदेखी ५ किलोमिटर पछि भैरहवा परासी सडकखण्डको १६ किलोमिटरभित्रको समथर जग्गा उल्लेख गरिएको थियो । आयल निगमले बोलपत्रमै तोकेअनुसार करिब २० विगाह क्षेत्रफलको जग्गाकोलागी तोकिएको एक महिना अवधीमा २ वटा बोलपत्र परेका थिए ।

लक्ष्मण पन्थीको नामबाट धकधई पुर्वको एउटा जग्गा थियो । जसको दायांबाया २ वटा इट्टा भट्टा छन् । अर्कोचाहि हरिप्रसाद पोखरेलको नामबाट रोहिणीको बगर थियो । शुरुमा धकधइ पुर्वको जग्गा स्वीकृत भएको थियो । पछि पुनः एक पटक स्वीकृत भइसकेको जग्गा रद्ध गरी रोहिणी बगरको जग्गा स्वीकृत गरियो । जबकी रोहिणी बगरको जग्गाको २० विगाहको नक्सा पनि थिएन । बगरको जग्गा सस्तो पाएको हुदां जग्गा दलालहरुले त्यसो गरेको बुझिन्छ ।

आयल निगमले कागजी हिसाबले बोलपत्र आहवन गरेको भएता पनि सिधैं दलाल मार्फत निजी घर सम्पति किनेजस्तैगरी भैरहवामा जग्गा किनेको देखिएको छ । तत्कालिन समयका आपुर्तिमन्त्री निकटस्थ व्यक्तिहरुले भैरहवामा जग्गा खोज्न दौंडधुप गरेका थिए । पछि जग्गा व्यापारी सुरेश घिमिरेले आयल निगमको मुख्य एजेन्ट भएर काम गरे । अधिकारीले आफु नदेखी कोमुद ढुंगाना मार्फत भैरहवाको जग्गा खरिद भएको हो । ढुंगानाले रामग्राम ८ नवलपरासीका हर्षलाल भरलाई जग्गा खोज्ने जिम्मा दिए ।

प्रतिकठ्ठा ५० हजार कमिशन पाउने आन्तरिक लिखीत सहमति गरेर रोहिणी क्षेत्रका ४ जना स्थानिय एजेन्ट मार्फत करिब ८ महिना लगाएर बगरको जग्गा असार २८ गते किनबेच भयो । लालपुर्जा नक्सा जुटाउनेदेखी जग्गाधनीसंग मोलतोल गर्नेगरी भरले बढीमा साढे ३ लाखमा प्रतिकठ्ठा जग्गा किन्नेगरी स्थानीय एजेन्टलाई जिम्मा दिए ।

जग्गाका मुख्य एजेन्ट कुमुद ढुंगाना र हर्ष भरले प्रतिकठ्ठा ५० हजार कमिशन दिनेगरी स्थानिय एजेन्टलाई सहमती गरे । र , पेश्की स्वरुप २० लाख पनि दिए ।

आयल निगमले केही जग्गा हरिप्रसाद पोखरेल र अनन्त घिमिरे मार्फत पास गरेको छ । उनीहरुले स्थानियसंग जिल्ला अदालत रुपन्देहीमा गइ वारेस लिएका थिए । केही जग्गा सिधैं किसान मार्फत पास गरेको छ । वारेस लिएर जग्गा पास गर्दा पनि मालपोत राजस्वमा ठगी भएको देखिएको छ । पोखरेल रोहिणी बगरको जग्गाको टेन्डर हाल्ने व्यक्ति हुन् । आयल निगमको नाममा असार २८ गते ८ विगाह ९ कठ्ठा र त्यसभन्दा अगाडी ५ विगाह ४ कठ्ठा रजिस्ट्रेशन पास भएको छ । निगमलाई चाहिएको २० विगाह हो । अन्य जग्गाको लालपुर्जा र नक्सा जुटाउन स्थानीय एजेन्टहरु दौंडधुप गरिरहदा मिडीया र संसदले छानविन थालेपछि दलालहरु अहिले चुपचाप बसेका छन् ।

जग्गा पास गर्नकोलागी जग्गा दलालहरुले माथीदेखी तल सम्म सेटिंग मिलाएको देखिएको छ । जिल्ला मालपोत कार्यलयको टोली रोहिणी खोला नजिकै रहेको प्रेम ढावामा बसेर जग्गा पास भएको थियो ।त्यहां पास हुन नसकेको जग्गा गएको असार २८ गते राती ९ बजे सम्म बसेर पास गरिएको थियो । जग्गा पासकोलागी बा १ ञ २१४० नम्बरको निगमको गाडी सहितका कर्मचारीहरु मालपोत कार्यलय भैरहवामा थिए । जग्गा पास गर्नकोलागी नेपाल आयल निगमले काठमाण्डौंबाट पुस्कर कार्किलाई प्रतिनीधि पठाएको थियो । आयल निगमले जग्गा खरिद हेर्ने जिम्मा कार्यलयका अधिकृत रबिन्द्र शर्मालाई दिएको थियो ।

१० लाख ७५ हजार रुपैयां प्रतिकठ्ठामा जग्गा खरिद गरेको भएता पनि जग्गाधनीलाई प्रतिकठ्ठा १ लाख देखी बढीमा ३ लाख ५० हजार सम्म भुक्तानी दिइ पास गरिएको छ । जसबापत दलालले किसानहरुलाई लगभग साढे ८ करोड दिएका छन् । बाकी साढे २२ करोड जग्गाको सेटिंग टिमले कमिशन बापत राखेको बुझिएकोछ । उक्त सेटिंगमा तत्कालिन विभागीय मन्त्रीदेखी , आयल निगमका अधिकारी देखी स्थानिय एजेन्ट सम्म छन् ।

संसदको छानविन जारी

संसदको अर्थ समितीले सो जग्गा खरिद सम्बन्धमा छानविन गर्न सांसदहरुको समिती नै बनाएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका अर्थ समितीका सदस्य तथा जग्गा छानविन समितीका सदस्य अब्दुल रज्जाकले सो क्षेत्रमा कुनैपनि तरिकाले आयल निगमको भण्डारण केन्द्र बनाउन नसकिने बताए । उनले भने “बाढीको भेलमा कसरी तेल भण्डारण बन्छ ?” अर्थसमितीले गठन गरेको संसदीय टोली केहि दिनमा भैरहवा आएर स्थलगत अध्ययनगरी प्रतिवेदन बुझाउने पनि सांसद रज्जाकले बताए । यसैगरी संसदको लेखा समितीले विभागीय सचिव र आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कासंग स्पस्टीकरण नै लिएको छ ।

खड्काले विधी पुराएर राम्रो ठाउमा जग्गा खरिद गरेको भनी हिजो मात्रै काठमाण्डौंमा पत्रकार सम्मेलनगरी जानकारी गराएका थिए । खड्काले राम्रो ठाउमा जग्गा खरिद गरेको भनी सार्वजनिक रुपमा दाबी गरेको १२ घन्टा बित्न नपाउदैं रुपन्देहीमा करोडौं तिरेर खरिद गरेको जग्गामा बाढीको भेल उर्लेको छ । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सो जग्गा खदिर सम्बन्धको सबै फाइल लगेको बुझिएको छ । अख्तियारले खड्कासंग पनि बयान लिइसकेको छ ।