– सन्तोष यादब
सिरहा, १९ साउन । मिर्चैया नगरपालिकामा निर्माण कार्य पुरा नहुँदै दुई वटा पक्की नाला भत्केको छ । कमशल सामग्री प्रयोग गरेर नाला निर्माण गरेका कारण भत्केको हो । नाला भत्केपछि मिर्चैयामा जताततै पानी जमेको छ । सडकहरु हिल्लामे बनेको छ ।
बुधवार राति भएको सामान्य बर्षाले नै नाला भत्केपछि स्थानीय चिन्तित बनेका छन् । उनीहरुले ठेक्केदार र उपभोक्ता समितिले कमसल काम गराएका कारण नाला भत्केको भन्दै कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । स्थानीय महेन्द्र यादबले नाला निर्माणमा अनियमितता गर्ने ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।
राजमार्ग छेउको नाला
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयास्थित हिमालय बोर्डिङ्ग स्कूल अगाडीवाट पश्चिमतर्फ जीवा खोलासम्म बनाईएको नालाको लगभग झण्डै ५० मिटर भाग भत्किएको छ । जिससले उपभोक्ता समिति मार्फत बनाउन लगाएको यो १ सय ७५ मिटरको नालामध्ये ५० मिटर भत्केको हो । उक्त नाला निर्माणमा जिससले ३५ लाख ५५ हजार रकम खर्च गरेको छ ।
प्रहरी कार्यालय छेउको नाला
मिर्चैयास्थित ईलाका प्रहरी कार्यालय मिचैयाको पूर्वपट्टीको सडकमा बनाएको नाला मध्ये करिब ३० मिटर भत्केको छ । यो सडकको दुवै तर्फ २÷२ सय मिटर निर्माण गर्नुपर्नेमा हालसम्म आधा काम पनि पुरा भएको छैन् । तर निर्माण गरिएको नाला भने भत्किन थालेका छन् ।
श्री शक्ति निर्माण सेवा गोदार धनुषाले मिर्चैया नगरपालिकाबाट ३८ लाख ९९ हजारमा नाला निर्माण गर्ने ठेक्का लिएका छन् । तर समयमा काम पुरा नगरेपछि नगरपालिकाले एक महिनाको समय थपेको छ । थपेको समयमा पनि काम पुरा हुने सम्भावना भने छैन् ।
कमिशनको खेल
जिल्ला समन्वय समिति सिरहा, मिर्चैया नगरपालिकाका कर्मचारी, ठेकेदार र उपभोक्ता समितिविच कमिशनको खेल भएको र सवैको मिलिभगतवाट कमसल तथा गुणस्तरहिन काम भएको स्थानीयको आरोप छ । नालाको निर्माण कार्यमा एक भाग सिमेन्टमा १२ भागसम्म बालुवा मिसाएको र २ नम्बर ईटा प्रयोग भएको थियो । कमसल काम हुँदा मात्र होइन्, कमिशनको खेलकै कारण नाला भत्किदा पनि सम्बन्धित मौन बस्ने स्थानीय बताउँछन् ।
बर्षा भएर भत्कियोः इन्जिनियर साह
मिर्चैया नगरपालिकाका ईनिजनीयर राजेश साहले अधिक वर्षा भएको र पानी बग्ने ठाउँ नभएका कारण नाला भत्किएको भनेर ठेकेदारको बचाउ गरेका छन् । उनले भने– एकतर्फ नाला निर्माण भएको छ । तर अर्को तर्फ नाला निर्माण स्थानीयले गर्न नदिँदा पानीको बहाव अत्यधिक बढी भएकोले नालालाई भत्काएको छ ।’













प्रतिक्रिया