
– तीर्थ नेपाल
– चितवन वारका अध्यक्ष भन्छन्– “पक्राउ गर्न मिल्दैन”
– सरकारी वकिल पनि आश्चर्यचकित
चितवन , १८ साउन । भरतपुर महानगरका मेयरका प्रत्यासी देवी ज्ञवालीका छोरा निरब ज्ञवालीलाई प्रहरीले गैरकानुनी तवरले पक्राउ गरेको तथ्य खुलेको छ । अदालतमा मुद्धा दायर भई ३० दिने म्याद समेत दिएको अवस्थामा प्रहरीले ज्ञवालीलाई पक्राउ गर्नु आश्चर्यजनक भएको चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटाले बताए ।
“अदालतमा अभियोग पत्र दायर भईसकेपछि अदालतवाटै ३० दिने म्याद दिएको अवस्थामा प्रहरीले गिरफ्तार गर्न मुद्धाहरुमा मिल्दैन, म्याद भित्र अदालतमा हाजिर हुन पाउने ज्ञवालीको अधिकार हो ”– देवकोटाले दैनिक नेपालसँग भने । अदालतले म्यादीको सट्टा वारेन्ट पूर्जी जारी गरेको भए मात्रै पक्राउ गर्न मिल्ने अन्यथा कानुन विपरित हुने उनले बताए ।
माओवादी केन्द्रका तर्फवाट भरतपुरको मेयरमा उम्मेदवार बनेकी रेणु दाहाललाई फेसबुकमा गालीगलौज गरेको अभियोगमा निरवबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय अपराध ऐन २०६३ बमोजिमको अभियोग पत्र २०७४ साउन १ गते दर्ता भएको थियो । त्यस लगत्तै अदालतले ३० दिनको समय तामेलीका लागी म्यादी पुर्जी जिल्ला अदालत चितवनलाई पठाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका न्यायधिवक्ता मणिराम न्यौपानेले जानकारी दिए । उनले भने –“यो ३० दिन भित्र अदालतमा हाजिर हुन निरवलाई स्वतन्त्रता छ, गिरफतारै गर्नु नमिल्ने हो ।”
तोकिएको ३० दिन भित्र हाजिर भएपछि पुर्पक्षका लागी वहस हुने र थुनामा राख्ने वा धरौटीमा छाड्ने वा सादा तारेखमा छाड्ने मध्ये एउटा आदेश हुने कानुनी ब्यवस्था रहेको जिल्ला न्यायधिवक्ता न्यौपानेले बताए ।
अभियोग प्रमाणित भए रु एक लाख रुपैया जरिवाना वा ५ वर्ष कैदको सजाय हुने कानुनी ब्यबस्था रहेको उनले जानकारी दिए ।
भरतपुर महानगर पालिकाको वडा नम्वर १९ को पुनः मतदान हुन दुई दिन बाँकी छँदा प्रहरीले मेयरका प्रत्यासी देवी ज्ञवालीका छोरा निरवलाई काठमाडौँको पुतलीसडकबाट बुधबार दिउँसो गिरफ्तार गरेको थियो । आफ्नो छोरालाई गैरकानुनी तवरले गिरफ्तार गरेर राज्यले सत्ता र शक्तिको चरम दुरुपयोग गरि अर्को अन्याय थोपरेको मेयरका प्रत्याशी ज्ञवालीले प्रतिक्रिया दिए ।
चितवन जिल्ला अदालत वार एशोसिएसनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारीले निरव प्रकाउ प्रकरणलाई शक्ति र सत्ताको दुरुपयोग गरी कानुनको धज्जी उडाइएको बताए । “फौजदारी न्याय प्रणालीको सिद्धान्त अनुसार प्रक्रिया पूरा गरेर मात्रै सजाय गर्नुपर्नेमा सर्वमान्य काननुको सिद्धान्त विपरित अदातलवाट म्याद जारी भएको ब्यक्तिलाई म्याद भित्रै प्रहरीले पक्राउ गर्नु गैरकानुनी हो । शक्ति र सत्ताको दुरुपयोग गरी कानुनको धज्जी उडाइयो । ज्ञवालीको तत्काल रिहा हुन पाउनु अधिकार हो ।” भण्डारीले भने ।
भरतपुर महानगरपालिका वडा नम्वर १९ को मतगणना चलिरहेको बेला गत जेठ १४ गते राति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए । तर, रेणुले एमालेले त्यातेको भनेर आरोप लगाएपछि मेयरका प्रत्यासी ज्ञवालीका छोरा निरवले फेसवुकमा मेयर प्रत्यासी रेणु दाहाललाई गाली गरी स्टाटस पोष्ट गरेका थिए । सोहीविरुद्ध चितवन प्रहरीमा जाहेरी परेको थियो । साइबर अपराध सम्वन्धी जाहेरी भएकाले थप कार्वाहीका लागी फाइल काठमाडौँ पठाइएको थियो ।











प्रतिक्रिया