बाजुरा, १७ साउन । नेकपा एमाले बाजुराले स्थानीय तहको विकास निर्माण अवस्था बारे अनुगमन र सहजिकरण गर्न जिम्मेवारी तोकेको छ । नौ वटै स्थानीय तहमा जिल्ला कमिटी सचिवालय सदस्यहरुलाई जिम्मेवारी तोकेको एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
नेकपा एमालेले पार्टी जिल्ला कमिटीको २१ औं बैंठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो बारे जानकारी गराएको हो । स्थानीय विभागलाई स्थानीय तह अनुसार पुर्नगठन गर्ने निर्णय अनुसार पार्टी सचिव बल्देव रेग्मीको नेतृत्वमा समिति बनाएको छ ।
जसमा स्वामिकात्र्तिक गाउँपालिका रंगमान शाही, हिमाली गाउँपालिका छप्कीलाल बुढा, पाण्डवगुफा गाउँपालिका मनलाल विष्ट, बडिमालिका नगरपालिका अमर खड्का, बुढीनन्दा नगरपालिका जनक कुमार बोहरा, बुढीगंगा नगरपालिका रामबहादुर बाँनीया, गौमुल गाउँपालिका तुलसीराम रोकाया, छेडेदह गाउँपालिका दिपक रावत र त्रिवेणी नगरपालिका विष्णु अयडीलाई जिम्मेवारी तोकेको हो ।
गाउँ तथा नगर संगठन कमिटी भन्दा फरक भूमिका र विशुद्ध विकास निर्माणमा सहयोग तथा सहजिकरण गर्ने गरी जिम्मेवारी तोकेको पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनु भएको छ । समितिको सदस्य सचिव काशी विकलाई तोकिएको छ ।
बैठकले कोल्टी क्षेत्रका साविक ११ गाविस तथा चार वटा स्थानीय तह मिलाएर एक र साविक १६ गाविस तथा पाँच वटा स्थानीय तह मिलाएर अर्को गरी दुई वटा प्रदेश निर्वाचन क्षेत्र निर्धारण गर्ने निर्णय गरेको छ ।
एमालेले हिमाली गाउँपालिका मंगल मल्ललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरी सो जिम्मेवारी पार्टी सचिवालय सदस्य पुरबहादुर रावतलाई जिम्मेवारी दिईएको छ । भने पार्टी जिल्ला कमिटी सदस्य भरत थापालाई सचिवालय सदस्य मनोनित गरेको छ ।
यस्तै छप्कीलाल बुढालाई पार्टी जिल्ला कमिटीमा मनोनित गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पार्टीको आन्तरिक जिीवन बलियो बनाउँ संगठन सृदृढीकरण र विस्तार तथा जनतासँगका भेटघाटका कार्यक्रमलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
पार्टी प्रचार विभागले आयोजना गरेको सम्मेलनमा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला सचिव बल्देव रेग्मी, उपसचिव गगन रावल, पार्टी कार्यालय सचिव काशी विकको सहभागिता रहेको थियो ।
काँग्रेस एमालेको एक मत
प्रदेशको निर्वाचन क्षेत्र निर्धारणमा नेपाली काँग्रेस र नेकपा एमालेको एक मत देखिएको छ । आगामी प्रदेश सभाको निर्वाचनका लागि जिल्लाको दुई क्षेत्र निर्धारण गर्दा काँग्रेस एमालेको एक मत देखिएको हो । दुबै दलले दुई क्षेत्र निर्धारण गर्दा पोरखेलाई सिमा मान्ने धारणा अघि सारेका छन् । सिमा बारे पछि विवाद नराख्ने गरी पार्टीको आधिकारी धारणा बनाएको सम्बन्धीत दलका नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितको हस्ताक्षर सहीत निर्वाचन क्षेत्र निर्धारण आयोगलाई पार्टीको आधिकारी धारणा लिखित रुपमा बुझाएको छ । भने नेकपा एमालेले पार्टी जिल्ला कमिटीको २१ औं बैठकबाट लिखित निर्णय गरेको छ ।
दुबै दलले पोरखे क्षेत्र माथि पर्ने चार वटा स्थानीय तह रहेको एक निर्वाचन क्षेत्र र पोरखे भन्दा तल्लो भेगमा रहेका पाँच वटा स्थानीय तह मिलाएर अर्को निर्वाचन क्षेत्र हुँदा नै राम्रो हुने एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले बताएका छन् । भौगोलिक अवस्था र जनसंख्याको आधारमा दुई निर्वाचन क्षेत्र बनाउँदा उपयुक्त हुने भन्दै पोरखे क्षेत्रलाई सिमा मान्न तयार भएका हुन् ।
सिफारिस गरिएकोमा गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, त्रिवेणी नगर पालिका, बुढीगंगा नगरपालिका र छेडेदह गाउँपालिका सहीत तल्लो क्षेत्रमा एक निर्वाचन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।
यस्तै बुढीनन्दा नगरपालिका, हिमाली, स्वामिकात्र्तिक र पाण्डवगुफा गाउँपालिका मिलेर अर्को निर्वाचन क्षेत्र बनाईएको छ । जनसंख्याका हिसाबमा तल्लो बाजुरा मार्फत क्षेत्र ठूलो देखिएपनि भुगोलका हिसाबमा कोल्टी क्षेत्र ठूलो रहेको छ ।
आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्ने दाउमा दलका नेताहरुका मत फरक देखिएपनि अन्ततः दुबै दलले पोरखे क्षेत्रलाई सिमा तोकेका छन् । सबै जसो विषय र मुद्दामा फरक मत राख्दै आएका काँग्रेस एमाले प्रदेश स्तरीय निर्वाचन क्षेत्र निर्धारणमा एकठाउँमा देखिएका छन् । प्रतिनिधि सभाका लागि भने बाजुरामा एक वटा मात्र निर्वाचन क्षेत्र रहने छ ।












प्रतिक्रिया