काठमाडौं, १७ साउन । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रको विकासका लागि आफूले नमुना काम गर्ने दृढता राखेका छन् । उनले त्यसका लागि सञ्चार माध्यमसँगै सहकार्य गर्ने र आपसी संवादले यस क्षेत्रका वर्तमान समस्या हल गर्ने समेत बताए ।
‘अनुकरणीय काम गर्नका लागि यो मलाई अवसर हो’, राजधानीको विजुलीबजारस्थित तराई विकास तथा सञ्चार केन्द्र नेपालले सञ्चालनमा ल्याएको सञ्चार केन्द्र नेपालको उदघाटन गर्दै मन्त्री बस्नेतले भने । उनले आफू ‘एक्सन’ मा जान मनपराउने शैलीको जनाउ दिंदै मुलुक र सञ्चार जगतका लागि मात्र नभै आफ्नै भविष्यका लागि पनि नमुना काम गर्ने दोर्होयाएका थिए । ‘कतिपय कुरा सिक्दै छु । विज्ञ पत्रकारद्वारा म सल्लाह पनि लिंदैछु’, उनले भने । उनले आगामी निर्वाचनमा सञ्चारमाध्यमले सत्य, सन्तुलित र स्वतन्त्र भूमिका देखाई सहयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले संविधानको सही कार्यान्वयनका लागि प्रदेश र संघीय निर्वाचन समयमै हुनुपर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्ने बताए । ‘हाम्रो तर्फबाट चुनाव सफल बनाउन रचनात्मक भूमिका हुनेछ’, विष्टले भने ।
एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले तराई आन्दोलनका क्रममा कतिपय मिडिया दुरुपयोग भएका र आन्दोलनलाई अतिरञ्जित बनाइएकोले त्यसतर्फ सजग हुनुपर्ने धारणा राखे ।
प्रेस युनियनका नेता दामोदर दवाडी, प्रेस सेन्टरका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, तराई विकास तथा सञ्चार केन्द्रको सञ्चालित सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंसहितले चुनावमा सञ्चारमाध्यमको भूमिकाबारे बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्ने सञ्चार केन्द्रका अध्यक्ष चौलागाईंले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै उहाँको कार्यकाल समग्र सञ्चार क्षेत्रका हक हितका निम्ति बन्ने नीति नियमसँग जोडिने हुनाले सञ्चारकर्मीहरुका हितका निम्ति लाग्नलाई अनुरोध गर्दै समग्र सञ्चारमाध्यमको हितका निम्ति समानुपातिक विज्ञापन कार्यन्वयन गराउन नवनियुक्त बस्नेतलाई अनुरोध गर्नुभयो भने श्रमजीवि पत्रकारका हितका निम्ति समेत प्रभावकारी नीति ल्याउनका निम्ति आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सयौँ वरिष्ठ पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागि भएका पत्रकारहरुले आगामी निर्वाचनका बारेमा सञ्चारकर्मीहरुले कसरी आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।













प्रतिक्रिया