१० मंसिर २०८३, बिहिबार

दोषी एमाले–राप्रपा होइनन्, कांग्रेस–माओवादी हुन् : कमल थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजबिराज, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

राजविराजमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले मधेस समस्याको निमित्त दोष राप्रपा, एमालेलाई दिने तर, खोट भने कांग्रेस र माओवादी केन्द्रमा रहेको बताउनुभयो । उहाँले समस्या समाधानको निमित्त सरकारमा रहेका दलहरू उदासिन भएको बताउनुभयो ।

राप्रपाले हिन्दुत्व, मधेसको अधिकार र पहिचानको संरक्षण र आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने थापाले बताउनुभयो । ‘भ्रष्टाचार निबारणको निमित्त राप्रपाले सशक्त आवाज उठाउँछ’, उहाँले भन्नुभयो ।

मधेसमा देखिएको अतिवादी शक्तिलाई आइसोलेट गर्नका लागि संविधानको परिधीभित्र रहेका उदारवादी शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनु पर्ने अध्यक्ष थापाको भनाइ थियो ।

मधेस समस्या समाधानको लागि कांग्रेस र माओवादी गम्भीर नभएको आरोप लगाउँदै थापाले नियतवस सत्तारूढ दलको राजनीतिक सत्तास्वार्थका कारण समस्या समाधान गर्न नखोजिएको आरोप लगाउनुभयो । उहाँले कांग्रेस र माओवादी केन्द्रले राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल गरिरहेको आरोप पनि लगाउनुभयो ।

ठूला भनिने राजनीतिक दलको अकर्मण्यता, गलत नीति र सत्ता लिप्साका कारण बिखण्डनकारी शक्ति तराईमा हाबी हुँदै गएको उहाँले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, ‘मधेस राप्रपाको निमित्त उर्बर भूमि हो । २ नं. प्रदेशको निर्वाचनमा पार्टीले उत्साहजनक परिणाम ल्याउनेछ ।’

महोत्तरीको बर्दिबासबाट सुरु भएको कार्यक्रम राजबिराज, लहान र जनकपुर पुगेर सम्पन्न हुनेछ ।

पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ , रामचन्द्र राय, प्रवक्ता सुशील श्रेष्ठ, सहायक महामन्त्री राजाराम बर्तौला लगायत केन्द्रीय सदस्यहरू भ्रमण टोलीमा रहेका छन् ।