घोराही, १६ साउन । दलित नेता स्वर्गीय दिनेश नेपालीको स्मृतिमा दाङको घोराहीमा विशेष कार्यक्रम गरिएको छ ।
नेपाल दलित संघ दाङ क्षेत्र नम्बर ३ ले दिनेशको स्मृतिमा कार्यक्रम राखेको क्षेत्र नं. ३ का सभापति शरद वि.क.ले जानकारी दिनुभयो । सो कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वसभापति वीरकेश्वरी गौतम, दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्मालगायतका कांग्रेस नेताहरूको सहभागिता रहेको थियो ।
दाङ धर्ना निवासी दलित आन्दोलनमा सक्रिय दिनेश नेपालीको मोटरसाईकल दुर्घटनामा परेर निधन भएको थियो ।
कांग्रेसका पूर्वसभापति वीरकेश्वरी गौतमले दलितको अधिकारका लागि दिनेश नेपालीले पुगाएको योगदानको दलित समुदायका लागि प्रेरणाका रुपमा सधै रहने बताउनुभयो ।
‘दलित समुदायलाई राज्यले कानूनी रुपमा अधिकार सम्पन्न बनाए पनि नयाँ कानूनको अनुभूति दलित समुदायले गर्न सकेका छैनन्’, पूर्व सभापति गौतमले बताउनुभयो । उहाँले कांग्रेसभित्र दलितमाथि कुनै भेदभाव नरहेको दाबी गर्दै भेदभाव छ भने सबैले त्यसको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
नेपाल दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्माले दिनेश नेपालीको स्वर्गारोहण पछि दलित संघ दाङको नेतृत्व २ वर्षदेखि खाली रहेको बताउनुभयो । उहाँले विवाद मिलाएर छिटोभन्दा छिटो नयाँ नेतृत्व ल्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।
कार्यक्रम नेपाली कांग्रेसका स्थानीय नेताहरू अर्जुनकुमार श्रेष्ठ, भरतबहादुर न्यौपाने, दाङका सचिव शंकरप्रसाद डाँगी, कोषाध्यक्ष सावित्रा राना, हरि रजौरे, ताराप्रसाद नेपाली, चेतबहादुर सेर्पाइली, भगतसिंह भण्डारी, बाबुराम वि.क., लोका वि.क., प्रकाश नेपाली, शम्शेर नेपाली, महिला संघ दाङकी अध्यक्ष गोमा रावत, टोपबहादुर बुढाथोकी, तिलक रावत, जानका के.सी., सपना वि.क., रीता वि.क., पुष्पा बादी लगायतको सहभागिता रहेको थियो ।
दलित संघ दाङ क्षेत्र न. ३ का उपाध्यक्ष केशव नेपालीको दिनेश नेपाली स्मृति दिवसमा कार्यक्रममा सहभागीलाई स्वागत गर्नुभएको थियो । स्वार्गीय दिनेश नेपालीकी धर्मपत्नी बिन्दुकुमारी नेपालीले सबैलाई धन्यवाद दिनुभएको सचिव पदम नेपालीले जानकारी दिनुभयो ।












प्रतिक्रिया