१० मंसिर २०८३, बिहिबार

वर्षमान भन्छन्- हामी खेल सुरु गर्छाै, परिणाम स्वीकार्न अब राजपा तयार हुनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक–दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘अब संशोधन प्रस्तावलाई टुँगो लगाउने निश्कर्षमा पुगिसकेका छौं, राजपाले अब परिणाम स्वीकार्न तयार हुनुपर्छ, खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई तिहाई पुर्याउने कोशिश गरिरहेका छौं, प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ।’

उनले प्रस्ताव फेल भएपनि त्यही एजेण्डा बोकेर राजपा चुनावमा जान तयार हुनुपर्ने बताए । उनले थपे, ‘एजेण्डा मर्ने कुरा हुँदैन, परिस्थिति अनुसार एजेण्डाहरुलाई अगाडि लैजान तयार हुनुपर्छ, हामीले पनि पहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएका थियौं, पछि संविधान जारी गर्नको लागि यो एजेण्डामा हामी लचक भयौं, अहिले फेरि यही एजेण्डा बोकेर हामी निर्वाचनमा जान्छौं ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा राखे । उनले भने,‘एमाले पनि संशोधन गर्नैहुन्न भनेर अतिवादी चिन्तन बोकेर बस्नुहुँदैन, एमाले यो कुराबाट पछि हट्नुपर्छ, संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो, यसबाट एमाले मुक्त हुनुपर्छ।’ पुनले संशोधन नेपाली जनता र दलहरुको आवाज भएको स्पष्ट पारे ।
पुनले मधेशवादी दलहरुले पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनीहरुको जायज माँगलाई जतिसक्दो चाँडो सम्बोधन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने,‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यीनीहरुलाई मिलाउनको लागि नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो।’ उनका अनुसार एमाले अहिले दक्षिणपन्थी कुरा गरिरहेको छ भने मधेशवादी दलहरु अतिवादको लाईनमा उभिएका छन् ।

प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा

उनले यही माघ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन छुट्टाछुट्टै गर्दा समय अपुग हुन सक्ने बताएका हुन । उनले भने,‘समय अत्यन्त छोटो छ, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्दा राम्रो हुन्छ, यसको विकल्प छैन, दुवै निर्वाचन एकै चरणमा नगरिए माघ ७ गतेभित्र निर्वाचन सम्पन्न गर्न गाह्रो हुन्छ ।’

माघ ७ गतेभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्नुको विकल्प नभएको बताएका छन् । एकै चरणमा निर्वाचन गर्नको लागि आयोग तयार हुनुपर्ने उनको भनाई थियो । पुनले भने,‘निर्वाचन आयोगले व्यवहारिकता बुझ्नुपर्छ, हामी संक्रमणमा छौं, प्राविधिक जटिलताहरु फुकाउन आयोग तयार हुनुपर्छ, कानूनी तथा संवैधानिक जटिलताहरु भए सरकार फुकाउन तयार छ, अहिलेको समय र परिस्थितिलाई बुझेर आयोग तयार हुनुपर्छ, केन्द्र र प्रदेशको लागि समानूपातिकमा एउटै ब्यालेटपेपर प्रयोग गर्न पनि सकिन्छ।’

त्यस्तै यदि आयोग तयार नभएर आफूहरु रजानीतिक दलहरु एक ठाउँमा बसेर राजनीतिक निर्णय लिन समेत पछि नपर्ने उनको जिकिर थियो । पुनले भने,‘त्यसैले आयोगले मुलुकको जटिलता बुझ्नुपर्छ।’ उनले प्रदेश र केन्द्रिय संसदको निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो साता एकै चरणमा गर्नुपर्ने सुझाव समेत दिए ।

उनले विगतमा पनि आयोगले राजनीतिक जटिलताहरु बुझेर निर्णय लिएको स्मरण गराउँदै भने,‘पहिलो संविधानसभाको निर्वाचनमा मतदाता नामाावलीमा नाम नहुँदा हाम्रा बरिष्ठतम् नेताहरु उम्मेद्धवार बन्न पाएका थिएनन, तर आयोगले पछि आफ्नो विशेष अधिकारबाट नागरिकताको भरमा उम्मेद्धवार बन्न दिएको थियो, र ती साथीहरु त्यतिवेला चुनाव जितेर मन्त्री बने, अहिले पनि त्यही हुनुपर्छ।’

उनले अघि भने, ‘निर्वाचन गराउनको लागि आयोगले व्यवहारिकता प्रर्दशन गर्नुपर्छ, उसले राजनीतिक प्रक्रियालाई सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्छ।’ आयोगले निश्पक्ष र कानूनी ढंगले नै काम गर्नुपर्ने भएपनि कहिलेकाहीँ राजनीतिक प्रक्रियालाई आयोगले सहयोग गर्नुपर्ने पुनको भनाई थियो । दुईवटै निर्वाचन एकै चरणमा गर्दा समय र साधनस्रोतको पनि बचत हुने र संविधान कार्यान्वयनपनि समयमै हुने उनको विश्वास थियो ।