
काठमाडौं, १४ साउन । आफूले उत्पादन गरेको टेन्सबर्ग नामक बियरको बोतलमा अन्तःशुल्कको नक्कली ‘स्टिकर’ प्रयोग गरेको प्रष्ट देखिए पनि टाइगर ब्रुअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले त्यसलाई ढाँट्ने काम गरेका छन् । उनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफूहरुले करछली नगरेको दाबी गरे पनि उनले बिक्री गर्ने गरेको बियरको बोतलमा अन्तःशुल्कको नक्कली ‘स्टिकर’ प्रयोग भएको छ । बियरको बोतलमा मदिराको ‘स्टिकर’ प्रयोगको बारेमा उनले केही बताउन सकेनन् ।
बियरको बोतलमा मदिराको ‘स्टिकर’ प्रयोग गरेर राजस्व ठगी गरेको पुष्टि भएपछि त्यस कारबाहीबाट जोगिन उनले पत्रकार सम्मेलन गरेर नेपालको भारतसँगको व्यापार घाटा बढेको भन्दै नेपाली बियर भारतमा निर्यात गर्ने व्यवस्था गरेर व्यापारघाटा कम गर्न सुझाव दिए । आफूमाथि नक्कली ‘स्टिकर’ प्रयोग गरेर बियर बिक्री गरेकोमा कारबाही हुने सम्भावना बढेपछि उनले त्यसलाई व्यापारघाटासँग जोडेर उम्किने प्रयास गरेका हुन् ।
कारखानामा भएको लगानीबारे समेत प्रश्न उठेपछि खड्काले आफूले भारत सरकारलाई १७ अर्ब मूल्यबराबरको राजस्व तिरेको भन्दै त्यहाँबाट आम्दानी गरेको दाबी गरेका छन् । उनले जति दाबी गरे पनि उनको सम्पत्तिको स्रोतको बारेमा प्रश्न उठेको छ । खड्काले पत्रकार सम्मेलनमा आफू १२ वर्षको उमेरमा रोजगारीको लागि भारत गएको बताएका थिए । रोजगारी खोज्न गएको व्यक्तिले भारतजस्तो ठूलो अर्थतन्त्र भएको देशमा छोटै समयमा कसरी उद्योग खोल्ने अवस्थामा पुगे भन्नेबारे प्रश्न उठेको छ ।
उनले पत्रकार सम्मेलनमा आफूलाई राज्यलाई ठगेर पैसा कमाउन आवश्यक नभएको र कुनै गल्ती नगरेको दाबी गरे पनि उनले उत्पादन गरेर बिक्री गर्ने गरेको बियरमा नक्कली ‘स्टिकर’ प्रयोग भएको छ । उक्त ‘स्टिकर’ खड्काको कम्पनीले बजारमा ल्याएको टेन्सबर्ग बियरमा प्रयोग भएको छ । भारतमा काम गर्न गएका खड्काले करिब एक अर्बभन्दा बढीको लगानीमा टाइगर ब्रुअरी इन्डष्ट्रिज प्रा.लि. सुरु गरेका हुन् । उनले त्यति धेरै रकमको स्रोत खुलाउन सकेका छैनन् । रुपन्देहीको फर्साटिकटमा करिब पाँच बिघा क्षेत्रफलमा उनले उद्योग खोलेका छन् ।
मदिरा उद्योगहरुमा नक्कली ‘स्टिकर’को बिगबिगी
बुटवल । आन्तरिक राजस्व कार्यालयमार्फत मदिरा उद्योगहरुलाई दिइने अन्तःशुल्कको ‘स्टिकर’ नक्कली भएको पाइएको छ । आन्तरिक राजस्व विभागको संरक्षणमा रुपन्देहीको सौं–फर्साटिकरमा अवस्थित विवादित टाइगर बु्रअरीका सञ्चालक तेजेन्द्र खड्काको उद्योगले उत्पादन गरेको टेन्सबर्ग ६५० एमएल ‘स्टिकर’ प्रयोग गर्नुपर्ने स्थानमा ४० यूपीको ३७५ एमएलको मदिराको ‘स्टिकर’ लगाएर ६५० एमएल बियर बिक्रीवितरण गरेको भेटिएसँगै उक्त कम्पनीको अवैध ‘स्टिकर’हरुको धन्दाको पर्दाफास हुनथालेको हो ।
त्यसैगरी पाल्पाको दोभानमा अवस्थित दोभान आसवित्र प्रा.लि.को पनि नक्कली ‘स्टिकर’को धन्दा खुलेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा नक्कली ‘स्टिकर’को प्रयोगमा ल्याएको भन्दै उजुरी परेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले सो कम्पनीको आधिकारिक बिक्रेता वाईएम मदिरा पसलमा भएको दोभान प्रिमियम नामक अवैध ‘स्टिकर’ लगाएको २८२ कार्टुन मदिरा नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएसँगै आन्तरिक राजस्व कार्यालय बुटवलले दोभान आसवित्र प्रा.लि.लाई ‘सिलबन्दी’ गरेर अनुसन्धान सुरु गरेको छ ।
विवादै विवादमा अल्झिँदै पटक–पटक फरक—फरक सञ्चालकहरुद्वारा कहिले बन्द हुने, कहिले खुल्ने दोभान आसवित्र प्रा.लि.का सञ्चालकहरु यति बेला फरार रहेको स्रोतको दाबी छ । दत्तराम दाहालको ७५ प्रतिशत र भीम गिरीको २५ प्रतिशत लगानी रहेको उद्योगमा दत्तराम दाहालको ‘कौवा बठ्याइँ’को कारणले नक्कली ‘स्टिकर’ प्रयोगमा आएको स्रोतले बतायो । दाहालले अर्का सञ्चालक भीम गिरीलाई समेत कुनै जानकारी नै नगराई उक्त नक्कली ‘स्टिकर’ टाँसिएको मदिरा गुल्मी पठाएको र कम्पनीमा बढी सेयर भएकोले अलि बढी दादागिरी समेत देखाउने गरेको कम्पनीसम्बद्ध स्रोतको भनाइ छ ।
पटक–पटक सञ्चालकहरु फेरिने र सञ्चालन हुने गरेको दोभान आसवित्र प्रा.लि. यस क्षेत्रका मदिरा उद्योगहरुमध्ये सबैभन्दा बढी आन्तरिक विवादमा फस्ने गरेको कर्मचारीहरु नै स्वीकार्छन् । कम्पनीमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘यहाँ धेरै पुराना कर्मचारी छौँ । धेरै पटक किनबेच हुँदै आएको कम्पनी हुनाले अहिले यहाँ कति र को–को साहुहरु छन् भन्ने हामीलाई केही थाहै छैन, हामी पनि पीडितै भएका छौं, कसैको एक महिना, कसैको दुई/तीन महिनाको तलब बाँकी छ ।’ आज दिने र भोलि दिने भन्दै म्यानेजरले तलब नदिएर झारा टार्दै आएको उनीहरुले गुनासो गरे । राजस्वले सिलबन्दी गरेपछि त तलब आउने आशा समेत मरिसकेको उनीहरुको भनाइ छ । यस्तै कम्पनीका मुख्य कुनै व्यक्तिहरु पनि सम्पर्कमा आएका छैनन् । कता छन्, के गरेका छन्, आउँछन्/आउँदैनन् केही पत्तो नभएको उनीहरुले जानकारी दिए ।
उता, आन्तरिक राजस्व कार्यालय बुटवलका सूचना अधिकारी सुरज कुमार विश्वकर्माले नक्कली हो या सक्कली ‘स्टिकर’ हो भन्ने अझै एकीन नभएको बताए । उनले भने, ‘हामी अहिलेसम्म अनुसन्धानमै छौँ । अनुसन्धानको पूरा निचोड ननिस्किँदासम्म यो नै हो भन्न मिलेन । केही दिन प्रतीक्षा गरौं नतिजा निस्केपछि सबै वास्तविकता थाहा हुन्छ ।’ अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नीतिनियमभित्र रही कम्पनीमा सिलबन्दी गरेर अनुसन्धान गरिरहेको उनले बताए । उत्पादनदेखि कम्पनीका सम्पूर्ण कामहरु रोकिएका छन् । कम्पनीको आधिकारिक व्यक्तिलाई आवश्यक पर्दा बोलाएर सोधपुछ गरिरहेका छौं ।
यसरी एकपछि अर्को गर्दै नक्कली ‘स्टिकर’ प्रयोग गर्ने मदिरा उद्योगहरुका धमाधम नक्कली ‘स्टिकर’हरु भेटिँदै जानथालेपछि यति बेला सम्बन्धित क्षेत्रका आन्तरिक राजस्व कार्यालयहरु नै शंकाको घेरामा परेका छन् । प्रत्येक मदिरा उद्योगमा राजस्वका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता हुँदाहुँदै पनि नक्कली ‘स्टिकर’ प्रयोग हुनु, अनुमति दिएभन्दा बढी मदिरा उत्पादन हुनुले राजस्वका कर्मचारीहरुकै मिलेमतोमा कैफियत भएको जो कोहीले पनि अनुमान लगाउनसक्ने अवस्था सृजना भएको आर्थिक दैनिकमा खबर छ ।















प्रतिक्रिया