प्यूठान, ५ साउन । गतवर्ष १० साउनको मध्यरात कहाली लाग्दो रात बनेर आयो । जसले सारा प्यूठानबासीहरुलाई कहिले निको नहुने चोट दिएर गयो । त्यो साउने झरीले धेरैको घर पुरियो, मन चिरियो, कैयौं घर परिवार बिस्थापित भए । पहिरोसँगै स्थानीयका खुसी र सपना बगेर गए । एउटा सुन्दर मानव बस्ती खण्डहर बन्यो । धेरै जना सहराबिहीन बन्न पुगे । जिल्लाकै सवैभन्दा बढी मानिस बसोवास गर्ने गाउँ बस्ती फोप्ली सहित अन्य गाउँ पनि गल्र्यामगुर्लुम ढले । पहिरो गएको वर्ष यहाँका स्थानीयले त्रास, शोक, भोक, रोदन, वेदना, छटपटी र पीडा सबै बेहोर्न पुगे ।
साउन ८ गतबाट सुरु भएको वर्षा १० गते साझ सम्म निकै बाक्लिएको थियो। घरका छाना समेत पानीका थोपाले चुहिन थालेका थिए । कतिपय फुसका छानामा त पानीको खाल नै परेको थियो । स्थानीयका अनुसार आकासबाट बर्सिएको पानी धाराबाट आउने पानी भन्दा पनि ठूलो थियो । पोहोर सालको जत्ति ठूलो पानी हामीले जानेका थिएनौ स्थानीय भन्छन।रात जती छिप्पिदै गयो त्यती नै आकाशबाट पानी दर्किन थाल्यो । नौ बजेदेखि भारी वर्षा भयो । निरन्तरको वर्षालाई यहाँको भिरालो जमीनले थेग्नै सकेन । मध्यरातमा बाहिर आएर स्थिति बुझ्ने मौका समेत पाएनन् गाउँलले । जहाँ कुनै संभावना नै थिएन भन्छन पीडितहरु । उसो त यसरी पहिरो जाला भनेर कसैले सोचेका पनि थिएनन् ।
आखिर त्यहि नसोचेकै कुरा भएरै छोड्यो । एकाएक ठूलठूला पहिराहरु जान थाले । जमिनमा पानीका मूल निस्कन थाले । पहिरासंगैै घरहरु बग्न थाले । अँधेरी रातमा नरोकिएको मुसलधारे वर्षामा कतै भागेर जाने ठाउँ नै थिएन । बारिको पाटा, ढिक, कान्ला र बाटाहरु सबै ठाउँ पहिरोले आफ्नो बास बनाइसकेको थियो । रातको एक बजि नसक्दै कैयौं परिवारका सदस्यलाई पहिरोले निलीसकेको थियो ।
स्थानीयका अनुसार पहाडै हल्लिए जस्तो, भूकम्प नै गए जस्तो त्यो भयावह अवस्था उनीहरुले सम्झनै चाहँदैनन् । बिहान उजेली हुनै थाल्दा फोप्लीको वार्ड नम्वर ३ चारिवाङमा दर्जन बढी चाँपीएका थिए । यहाँ पहिरोले पुरीएर २६ जनाको ज्यान गइसकेको थियो । तीमध्ये १७ जना एउटै कुल घरानका थिए । कैयौ मानिस घाइते थिए । सिगो गाउ बस्ति नै सोकमग्न थिए । मानिसका शव यत्रतत्र छरिएका थिए । गाइवस्तु पशुचौपाय समेत हार गुहार मागीरहेका थिए ।













प्रतिक्रिया