२१ कार्तिक २०८३, शनिबार

करोडौं रकम खर्चिने सरकार, आलटालको काम गर्ने ठेकेदार

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, ४ साउन । बर्खा सुरु भएसंगै देशका थुप्रै सडक खण्डहरु अबरुद्ध हुने र पुनः सुचारु हुने गरेका छन् । कतिपय अवस्थामा धेरैले अकालमा ज्यान गुमाउनु परेको छ त, कतिको जीवन जोखिम मोडमा अघि बढिरहेको छ । कोहीले गन्तव्य सम्मको यात्रा पार गरेका छन् भने कोही त्यस्ता यात्रु जो सडकको दयनिय अवस्थाका कारण सडक छेउमै दिन अनि रात बिताउन बाध्य बनेका छन् । अबिरल वर्षा र वर्षा पछिको पहिरोले उत्पन्न समस्याका कारण देशका विभिन्न सडक खण्डहरु बिग्रिएका छन्, बन्द छन् र महिनौ दिन सम्म पनि केही त्यस्ता सडक खण्डमा सवारी साधनहरु गुड्न सकेका छैनन् ।

सरकारले देशको विकासका लागि ग्रामिण बस्ती सम्म सडक संजाल गर्ने कार्यलाई तिब्र पारेको छ । तर लगानी अनुसारको काम र गुणस्तरमा वेवास्ता गर्दा आज देशको पुरै सडक संजालमा अकल्पनिय दुर्घटनाहरु दिनहुँ बढिरहेका छन् । यसैबिच रुकुम पनि सडक संजाल र यातायातका हिसाबले चौतर्फी विकासमा फड्को मारिरहेको जिल्ला हो । यद्यपि यो जिल्लाको सदरमुकाम सम्म जोडिएको राप्ती राजमार्गको पुरै सडक ओटासिल गरिएको छ । तरपनि सडकको कालापत्रे उत्रिएर पछिल्लो समय खाल्डाखुल्डीको सडकमा परिणत भएको छ ।

विशेष गरेर सल्याण देखी रुकुम सदरमुकाम मुसिकोटको बाटो जोखिम बन्दै गईरहेको छ । कतिपय स्थान र खोलामा पक्की पूल नहुँदा लामो समय यात्रुले सास्ती भोग्नु परिरहेको छ । उता मध्यपहाडी राजमार्ग भनिएको अर्को सडक खण्डको अवस्था पनि उत्तिकै दर्दनाक छ । यस मध्यपहाडी लोकमार्ग बर्खा सुरु भएपछि प्रायः बन्द हुने गर्दछ । भिरालो जमिन र कच्ची सडकका कारणले हाल सदरमुकामबाट जिल्लाको चौरजहारी नगरपालिका सम्मको यातायात सेवा पनि रोकिएको छ । तर, चाईनाबगरबाट दिनहुँ साना यातायातका साधनहरु गुड्ने गरेको यो सडक खण्ड भने ठूला सवारी साधनका लागि अति जोखिम मानिएको छ ।

सरकारले मध्यपहाडी लोकमार्गको रुपमा घोषण गरेर सडक विस्तारको कामलाई अघि बढाएको धेरै भयो । तर, त्यस अवधिमा सोचेजस्तो काम नगरिनुले पनि यो सडक खण्ड बर्षैपिच्छे झन्झन् बिग्रदै गईरहेको छ । वर्खा सकिएपछि सडक विस्तारको कामलाई सुरु गरिने र फेरी वर्खा सुरु हुने बित्तिकै बन्द हुने यो सडकमा गरिएको लगानी बर्खाको भेलसंगै बग्ने गरेको छ । करोडौं रकम खर्चिने सरकार र आलटालको काम गर्ने ठेकेदारको नक्कली कामले जनताको जीवनसंग प्रत्यक्ष खेलबाड गरेको यहाँका स्थानीयबासीको गुणासो छ ।

सामान्य ठाउँमा झरेको पहिरो तथा सडक खण्डको मर्मतमा समेत सरोकारवाला निकाय र यातायात व्यवसायीहरुको ध्यान समेत नजानुले अहिलेको मध्यपहाडी लोकमार्गको अवस्था साँच्चिकै ग्रामिण स्तरको कच्ची सडक जस्तै भएको छ । केही दिन अघि यसै मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने सानोभेरी गाउँपालिका वडा नं. २ को सहरेखोला स्थित सडकमै एक यात्रुबाहक बस पल्टियो । बस सडकमा पल्टििएपछि मध्यपहाडी लोकमार्ग केही दिनका लागि अबरुद्ध बन्यो तर पुर्ण रुपमा सो सडक संचालनमा भने छैन । पल्टिएको बसलाई सडक खण्डबाट हटाउने व्यवस्थामा ढिलाई गरिंदा त्यो क्षत्रका स्थानीयबासीहरुले आवतजावतमा थप समस्या परेको बताईरहेका छन् ।

सडकमै पल्टिएको उक्त बस सोमबार सानोभेरी गाउँपालिकाको चाईनाबगरबाट यात्रु बोकेर सदरमुकाम मुसिकोटका लागि छुटेकोे थियो । तर गन्तब्यमा पुग्न नपाउँदै कच्ची र साँघुरो सडकका कारण बस सडकमै पल्टियो । बस पल्टिनु पूर्व बसमा सवार सबै यात्रुलाई बसबाट ओरालिएकोले बस दुर्घटनामा त्यस्तो कुनै मानविय क्षति भएन । तर बसका चालक भने सामान्य घाईते भए । त्यसैले जनताको खुशीका लागि सुविधा र विकासका नाममा जोडिएको मध्यपहाडी लोकमार्ग कहिले सम्म पक्की सडकको रुपमा विस्तार हुन्छ ? यो आम रुकुमबासीको गुणासो र चिन्ताको विषय बन्ने गरेको छ ।