लमजुङ, ४ साउन । प्रेस चौतारी नेपाल लमजुङ शाखाले स्वर्गीय तिलक पाण्डे र सुकमान गुरुङ स्मृती पत्रकारिताको पुरस्कारको घोषणा गरेको छ ।
शाखाको मंगलबार बेसीशहरमा बसेको बैठकले स्वर्गीय तिलक पाण्डे र सुकमान गुरुङ स्मृती पत्रकारिता पुरस्कारको घोषणा गरेको हो । २ वटै पुरस्कारको लागि अक्षयकोष स्थापनागरी बिनियम बनाएर प्रेस चौतारीको स्थापना दिवसका अवसरमा प्रदान गरिने शाखाका अध्यक्ष दलबहादुर मजाकोटीले बताउनुभयो ।
एमाले प्रभावशाली नेताका रुपमा छुट्टै छवि बनाउन सफल जिल्ला कमिटी लमजुङका तत्कालिन सचिवालय सदस्य एंव २ नम्बर निर्वाचन क्षेत्रका ईन्चार्ज तिलक पाण्डेको २०६१ माघ १६ गते तत्कालिन विद्रोही माओवादीबाट हत्या भएको थियो भने खुदी गाविसका तत्कालिन अध्यक्ष एंव नेकपा एमाले इलाका नम्बर ७ का सचिव सुकमान गुरुङको एमालेले संचालन गरेको भष्ट्रचार विरोधी आन्दोलनकाक्रममा २०५९ जेठ १४ गते प्रहरीको गोली लागेपछि उपचारको लागी लैजाने क्रममा बाटोमा निधन भएको थियो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एंव प्रदेश नम्बर ४ का संयोजक गणेश पाण्डेको प्रमुख आतिथ्यतामा, नेकपा एमाले जिल्ला कमिटी लमजुङका सचिव कृष्ण प्रसाद अधिकारी बिशेष आतिथ्यतामा बैठकको आयोजना गरिएको हो । बैठकले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अधिवेशन र स्थानीय निर्वाचनमा पत्रकारहरुको खेलेको भूमिकाको बारेमा समिक्षा गरेको थियो । बैठकले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अधिवेशनबाट निर्वाचित पदाधिकारी, पार्षद एंव सदस्यहरुलाई बधाई दिनुको साथै सफल कार्यकालको शुभकामना दिएको छ ।
प्रेस चौतारी लमजुङ शाखाको बैठकले नेकपा एमाले र विभिन्न जनवर्गिय संगठन, स्थानीय निकाय, विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा गणेश पाण्डेद्वारा निर्देशित चर्चित डकुमेन्ट्री भाग्यले बाचेकाहरुको प्रर्दशनी गर्ने समेत निर्णय गरेको छ ।
शाखाका अध्यक्ष दलबहादुर मजाकोटीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले प्रचार विभागका उपप्रमुख कृष्ण केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान संगित नेपाली, प्रेस चौतारीका पूर्व अध्यक्ष ईश्वर पाण्डे, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ, प्रेस चौतारीका सचिव अनुज अधिकारी लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । बैठकमा सहजीकरण प्रेस चौतारीका सदस्य सरोज विश्वकर्माले गर्नु भएको थियो ।












प्रतिक्रिया