रुकुम, ३ साउन । रुकुमको त्रिवेणी गाउँपालिका वडा नं. १० पेउघाको भूम्केखोला साना जलविद्युतको पानी पोखरी आईतबार रातीको अबिरल वर्षाका कारण माथिबाट आएको पहिरोले भत्किएको छ । जलविद्युतको पानी पोखरी भत्किएसंगै विद्युत सेवा समेत अवरुद्ध हुँदा ६५ घरपरिवार अंधेरोमा बस्न बाध्य भएको स्थानीयले बताएका छन् ।
नौ वर्ष पहिले जिल्ला समन्वय समिति, भूसंरक्षण, कृषि तथा गाविसको झण्डै १५ लाख आर्थिक लागत र स्थानीयको श्रमदानमा उक्त पानी पोखरी निर्माण गरिएको थियो । निर्माणाधिन पानी पोखरी पहिरोले भत्किंदा स्थानीयबासी एकदम चिन्तित् बनेका छन् । सोही पहिरोले स्थानीय बासिन्दा धनसिंङ खड्का र तेज बहादुर ओलीकोे घर पनि उच्च जोखिममा परेका छन् । पहिरोले खड्काको परिवार विस्थापित भई हाल छिमेकीको घरमा बसिरहेको र ओलीको परिवारले भने आफ्नै अर्को एक घरमा बसाई सारेको छ । विस्थापित खड्काको परिवारले आफ्नो घर नै जोखिममा परेपछि राहत संगै बस्ने बासको व्यवस्था गरिदिन सरोकारवाला निकायसंग आग्रह गरेको छ ।
भूम्केखोला जलविद्युतको पोखरीमा आएको पहिरो संगै त्यस क्षेत्रमा बसोबास गर्ने धेरैजसो स्थानीयका घरहरु पनि जोखिममा परेका छन् । यदि अविरल वर्षा भईरहने हो भने ठूलो जनधनको क्षति समेत हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । कच्ची माटो र भौगोलिक भू–वनावट कमजोर भएकाले त्यस वरपर पहिरो जाने संभावना बढेर गएको छ । वर्खा सुरु भएसंगै रुकुमका अधिकांश बस्तीहरु पहिरो तथा बाढीको जोखिममा रहेका छन् ।
प्रायजसो यहाँका बस्तिहरु पहिरो जान सक्ने ठाउँहरुमा निर्मित भएकाले पनि वर्षाको समयमा थुप्रै बस्तीहरु पहिरोको जोखिममा देखिन्छन् । विशेष गरेर पछिल्लो समय ग्रामिण बस्तिमा सडक संजालका लागि स्काभेटर र जेसिबीको प्रयोग गरिनुले त्यस्ता केही क्षेत्रको भूगोल कमजोर हुँदै गएकोले छ ।













प्रतिक्रिया