२१ कार्तिक २०८३, शनिबार

लागुऔषध नियन्त्रणका लागि योजना बनाईने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, ३ साउन । प्रहरीको सकृयतासँगै लागूऔषध कारोवारी र सेवनकर्ताको संख्या घटनु पर्ने ठाउँमा झन बढ्न थालेपछि यहाँको सरोकारवालाहरु चिन्तित देखिएका छन् । मंगलबार सदरमुकाम गाईघाटमा लागूऔषध नियन्त्रणको क्षेत्रमा जिल्लामा कृयाशिल करुणा सामुदायिक हेरचाह केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि त्रियुगा नगरपालिकाका प्रमुख तथा १६ वटै वडाका प्रमुखहरुले चिन्ता व्यक्त गर्नु भएको हो ।

प्रदेशनम्बर १ का १४ जिल्लामा उदयपुर लागुऔषधको हिसावले पहिलो जिल्लामा पुगेको तथ्यांकले देखाएपछि सरकारवालाहरु चिन्तित देखिएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बलदेव चौधरीले लागुऔषध ओसारपसार र सेवन न्युनिकरणका लागि नगरपालिकाले कार्ययोजना बनाएर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सुरक्षा निकायसँग आबश्यक समन्वय गरी यसको रोकथामका लागि कार्ययोजना अगाडी बढाइने बताउनुभयो । चौधरीले यो समस्या स्थानीय स्तरमा मात्रै नभई राष्ट्रिय स्तरमै भएकाले माथिल्लो निकायमा नै नीति बनाउन खाँचो रहेको औल्याउनुभयो ।

लागुऔषध भित्र्याउने र उर्वरशक्ति बोकेका युवालाई लठ्ठै बनाएर सुताई राख्ने र नेपाललाई केहि गर्न नदिई ध्वस्त बनाउने विदेशीको योजना रहेको उहाँको दावि छ । चौधरीले लागुऔषध नियन्त्रणका लागि अली बढि घरपरिवार जवाफदेहि बन्नु पर्ने र परिवारबाटै मनोविमर्श आबश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष प्रकाशकुमार खड्काले लागुऔषध कारोवारी र सेवनकर्तालाई न्युनिकरण गरी सुसँस्कृत नागरिकसहितको समृद्ध नगर बनाउन आबश्यक रहेको बताउनुभयो । त्यस्तै वडानं १२ का वडाध्यक्ष जयविक्रम राईले लागुऔषध कारोबारी न्युनिकरणका लागि नेताहरु नै जिम्वेवार रहनु पर्ने बताउनुभयो ।

कारोबारी कुनै न कुनै पार्टीको हुने भएकाले पक्राउ पर्न साथ छुटाउनका लागि प्रहरीलाई नेताहरुले दवाव दिने गरेकाकारण पनि यस्ता घटना न्युनिकरण हुन नसकेको उहाँको भनाई थियो । सहभागि अन्य वडाध्यक्षहरुले लागुऔषध नियन्त्रणका लागि आआफ्नो वडामा कार्ययोजना बनाई अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा करुणा सामुदायिक हेरचाह केन्द्रकी अध्यक्ष निरा राईले लागुऔषधको क्षेत्रमा जिल्लाको जर्जर अबश्था रहेकाले न्युनिकरणका लागि अभियानको थालनी गरको बताउनुभयो । उहाँले संस्थाले सबैको साथसहयोगमा चाँडै सुधार केन्द्रको स्थापना गरी सेवनकर्तालाई सुधार गर्दै लैजाने योजना अगाडी सारिएको बताउनुभयो ।