१ कार्तिक २०८३, आइतबार

एनआरएन अमेरिकाको चुनावी प्रचारमा उत्रियो जोशी समूह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अमेरिका । एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएको अध्यक्षका प्रत्यासी गौरी जोशी र उनको समूहका उम्मेद्वारहरु प्रचार प्रसारमा अब विभिन्न क्षेत्रमा पुग्ने भएका छन् ।

उम्मेदवारी मनोनयन पछि निर्वाचन पूर्वको बाँकी सप्ताहान्त यो समूह उत्तर अमेरिकाको पूर्वपश्चिम, उत्तर दक्षिण सबैतिर पुग्ने र सदस्यहरुसंग प्रत्यक्ष भेटघाट एवं अन्तरक्रिया गर्ने तयारीमा जुटेको छ हो ।

‘यसका लागि हामीले आन्तरिक तयारी सबै पूरा गरेका छौं, हाम्रो प्रचारलाई व्यापक बनाउदै हामी सामुहिक रुपमा सदस्यहरुका माझ पुग्नेछौं’ अध्यक्षका प्रत्यासी गौरी जोशीले संक्षिप्त टेलिफोन संवादमा भने ।

यसको सुरुवात आगामी शुक्रवार कोलोराडोबाट हुँदैछ । अध्यक्षका प्रत्यासी जोशी र अन्य उम्मेद्वारहरु शुक्रवार कोलोराडोमा हुने जोशी टीमसंगको परिचय र भेटघाटमा पुग्नेछन् ।

त्यसको भोलिपल्ट शनिवार यो टोली न्यूयोर्क आइपुग्नेछ । शनिवार दिउँसो न्यूयोर्कमा अध्यक्षका प्रत्यासी र उनको समूहका अन्य उम्मेदवार ज्याक्सन हाइट्समा हुने कार्यक्रममा सदस्यहरुका माझ आफ्नो साझा एजेन्डासहित पुग्दैछन् ।

न्यूयोर्कपछि आइतवार बिहान यो टोली न्यूजर्सी, दिउँसो बाल्टिमोर र सम्भव भएसम्म सोही साँझ भर्जिनियासमेत पुगेर सदस्यहरुसंग अन्तरक्रिया गर्नेछ ।

‘उत्तर पूर्वी क्षेत्रको सम्पूर्ण तयारी सकिएको छ, हामी न्यूयोर्क, न्यूजर्सी,बाल्टिमोर र भर्जिनियामा जुलाई २२ र २३ को सप्ताहान्तमा अध्यक्षकै नेतृत्वमा सदस्यहरुका माझ पुग्दैछौं र हामी यस क्षेत्रका सम्पूर्ण सदस्य एवम हाम्रा शुभेच्छुकहरुलाई यो प्रचार अभियानको क्रममा हुन लागेको कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछौं’, गौरी जोशी समूहका बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार संजय थापाले भने ।

थापाले नै यस क्षेत्रको कार्यक्रम संयोजन गर्दैछन् । जोशी नेतृत्वको यो टोली जुलाई २८ मा न्यू ह्याम्शायर, जुलाई २९ मा बिहान बोष्टन र साँझ कनेक्टिकटमा पुग्नेछ ।

उत्तर पूर्वी क्षेत्रपछि यो टोली यस क्षेत्रकै अन्य शहरमा समेत पुग्ने प्रयासमा छ । जोशी टीम अगष्ट ५ तारिख लस एञ्जलस र अगष्ट ६ तारिख सन् फ्रान्सिस्को पुग्नेछ ।

लस एञ्जलसको कार्यक्रम संयोजन उपाध्यक्षकी प्रत्यासी उमा थापाले गर्दै छिन् भने सन् फ्रान्सिस्कोको कार्यक्रम महासचिवका उम्मेदवार एवं हाल क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले संयोजन गर्दैछन् ।

यसैगरी यो टोली कोलोराडो, शिकागो र टेक्सासमा समेत कार्यक्रम गर्ने तयारीमा छ ।