काठमाडौं, २ साउन । चितवनको भरतपुर महानगरपालिका प्रकरणको सुनुवाईलाई सर्वाेच्च अदालतले आगामी साउन ८ गतेलाई सारेको छ ।
भरतपुरको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्ने कुराको टुंगो लगाउन सोमबारदेखि सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुरु भएको सुनुवाईलाई ६ दिन पछाडी सारिएको हो ।
६ दिनपछाडी किन सारियो सुनुवाई ?
सोमबार सुनुवाई सुरु भएपनि कानून व्यवसायीको बहस नसकिएकाले यो मुद्दा हेर्दा हेर्दैमा परेको छ । यद्यपी हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुनुपर्ने हो । तर, यहाँ ६ दिन पछाडी सारियो ।
यसरी मुद्दा पछाडी सारिनुको कारण हो इजलासका एक न्यायाधीश पुरुषोत्तम भण्डारीको भारत भ्रमण । भण्डारी मंगलबार भारत जाँदैछन् र ७ गते फर्किनेछन् । यो अवधिमा उनी इजलासमा उपस्थित हुन नसक्ने भएपछि भरतपुर मुद्दाको सुनुवाइ ६ दिन रोकिएको हो ।
न्यायाधीश भण्डारी ७ गते नेपाल फर्कने र ८ गते आइतबार पुनः सुनुवाइ सुरु हुने सर्वोच्च अदालतले जनाएको छ ।











प्रतिक्रिया