२१ कार्तिक २०८३, शनिबार

एक वर्षमा १३ विचौलिया जेल चलान, २३५ चेलीको भारत र सीमाबाट उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), १ साउन । कपिलवस्तुमा एकवर्षभित्र १३ विचौलिया जेल चलाउन भएका छन् । आर्थिक वर्ष २०७३–०७४ को साउनदेखि असारसम्म चेलीबेटी बेचबिखनमा पक्राउ परेका विचौलिया जेल चलाउन भएका हुन् । मानव तस्करीमा दर्ता भएका मुद्धा जिल्ला अदालत कपिलवस्तुले जेल फैसला गरेको हो । जिल्लाको कृष्णनगरस्थित केआई नेपाल र शान्ति पुनस्र्थापना गृहले सीमा निगरानी तथा सोधपुछका क्रममा विभिन्न समयमा नियन्त्रणमा लिई मुद्धा दायर गरेका थिए । जेल फैसला भएकामध्ये १२ जना विचौलिया विरुद्ध केआई नेपालले मुद्धा दर्ता गरेको थियो भने एक जना शान्ति पुनस्र्थापना गृहले मुद्धा दर्ता गराएको थियो ।

यसैबीच विचौलियाको प्रलोभनमा परी भारतका विभिन्न ठाउँमा बेचिएकी ६ किशोरीको शान्ति पुनस्र्थापना गृहले उद्धार गरेको छ । भने सीमा निगरानीका क्रममा भारततर्फ जान लागेका १सय २३ किशोरीको उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभएको छ । उद्धार गरिएका किशोरीमध्ये दुई जनालाई पुनस्र्थापना केन्द्रमा पठाइएको भट्टराईले जनाउनुभयो ।

यस्तै कृष्णनगर सीमाक्षेत्रबाट केआई नेपालले १सय ६ जना किशोरीको सुरक्षित साथ उद्धार गरेको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये ८ जना किशोरीको घरायसी स्थिति निकै दयनीय भएकाले आत्मनिर्भरका लागि चितवन सेफ होममा पठाइएको विश्वकर्माले बताउनुभयो ।

मानव बेचबिखनविरुद्ध लामो समयदेखि कृष्णनगर सीमाक्षेत्रमा काम गर्ने शिलशिलामा मानव बेचविखनमा संलग्न गिरोहले सबैभन्दा बढी यसवर्ष कृष्णनगर नाकालाई प्रयोग गरेको पाइएको केआई नेपालका संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । सीमामा रही मानव बेचबिखन बिरुद्ध काम गर्ने क्रममा नेपालबाट भारत जाँदै गरेका ३हजार ४सय ८१ जना चेलीहरुलाई मानव बेचबिखन तथा लैंगिक हिंसाबाट सजग रहन र सचेत हुनका लागि परामर्श प्रदान गरिएको संयोजक बिश्वकर्माले बताउनुभयो । यसैगरी त्यहाँ कार्यरत शान्ति पुनस्र्थापना गृहले २ हजार ८सय ४१ जनालाई परामर्श दिएको कार्यक्रम संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

आर्थिक अवस्था निकै कमजोर भएका युवतीहरु कामको शिलशिलामा भारततर्फ जान लागेको भट्टराईले जनाउनुभयो । जसमध्ये बुवा नभएका २७०, आमा नभएका ९१ र दुवै नभएका ४७ जना परामर्शका क्रममा फेला परेको उहाँले बताउनुभयो । यसैगरी परामर्शका क्रममा विवाहित १हजार २सय ५२ जना र अविवाहित किशोरीहरु १हजार ५सय ८९ जना रहेको भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाको कृष्णनगर क्षेत्रमा कार्यरत संघसंस्थाहरु सीमा नाका, लिंकगेट र यात्रुगेटमा बिहानदेखि बेलुकासम्म सीमा निगरानीमा सक्रिय छन् । मानव बेचविखनका घटनामा न्यूनीकरण ल्याउन इलाका प्रहरी कार्यालय कृष्णनगर, अस्थायी प्रहरी चौकी लिंकगेट र सशस्त्र प्रहरीको पूर्ण सहयोग रहेको दुवै संस्थाका प्रमुखहरुको भनाई छ ।