काठमाडौं, २८ असार । बेलायतले नेपाली सेनालाई उच्च सम्मान दिँदै विश्व शान्तिमा खेलेको भुमिकाको प्रशंसा गरेको छ ।
हाल बेलायत भ्रमणमा रहेका प्रधान सेनापति राजेन्द्र क्षत्रीसँगको भेटमा बेलायतका सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टरले नेपाली सेनाले विश्व शान्तिमा पुगाएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त भेटमा प्रधासेनापति क्षत्रीले बेलायती सेनामा भइरहेको आधुनिकीकरण सम्बन्धी जानकारी लिनुको साथै दुई पक्षीय पारस्परिक हितको बारेमा छलफल गरेका थिए ।
संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा असार २३ गते आयोजना भएको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुको दोस्रो विश्व सम्मेलनमा सहभागी भई असार २६ गतेबाट बेलायत भ्रमणमा रहेका क्षत्रीले बेलायती सेनाप्रमुखका साथै वायुसेना प्रमुख, तथा उच्च सैन्य अधिकारी र गोरखा बिग्रेडका कोलोनेल कमाण्डेडसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमणको क्रममा उनले बेलायती सेनाको १९औं रेजिमेन्ट रोयल आर्टिलिरी लगायत अन्य विभिन्न सैनिक ईकाइहरुको समेत निरीक्षण गरी सो ईकाइहरुद्वारा भएका विविध गतिविधी बारे जानकारी हासिल गरेका थिए । भ्रमणकै सिलसिलामा लण्डन स्थित नेपाली दुताबासद्वारा आयोजित रात्रीभोजमा सहभागी भई अन्तरक्रिया गरेका थिए ।
बेलायतको ६ दिने औपचारिक भ्रमण समाप्त गरी प्रधान सेनापति क्षत्री असार ३१ गते नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ ।
प्रधान सेनापति क्षत्रीको यस भ्रमणले नेपाल र संयुक्त अधिराज्य (बेलायत) बीचको २०० बर्षभन्दा पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनुको साथै नेपाली सेना तथा बेलायती सेना बिचको आपसी सहयोग तथा सदभाव अरु मजबुद हुने विश्वास नेपाली सेनाले लिएको छ ।


















प्रतिक्रिया