काठमाडौं, २७ असार । भारतले भुटान र नेपाललाई पनि सिक्कम झैँ आफूमा मिलाउन खोज्दा समस्या उत्पन्न भएको आरोप चिनियाँ विज्ञले लगाएका छन्। भुटान र नेपालका लागि सिक्किम बन्नबाट बच्नु नै पहिलो चुनौति रहेको चिनियाँ विज्ञको ठहर छ।
भुटान र नेपालको आन्तरिक मामिला, सार्वभौमिकता, राष्ट्रिय प्रतिरक्षा र स्वतन्त्रतामा भारतले नाङ्गो हस्तक्षेप र नियन्त्रण जारी राखेकोमा चिनियाँ विज्ञहरुले गहिरो चिन्ता प्रकट गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ। सीमावर्ती डोक्लाम क्षेत्रमा चीनियाँ सेनाले सडक निर्माण गरिहंदा भारतीय सेनाले अवरोध पुर्याएपछि चीन र भारतबीच चुलिएको तनावले उग्ररुप लिएका बेला चिनियाँ विज्ञहरुको यस्तो भनाई आएको हो।
‘भारतले भुटानको रक्षा र कुटनीतिमा नियन्त्रण गर्दै आएको छ। यो भुटानको सार्वभौमसत्ता र राष्ट्रिय स्वार्थ विपरीत छ। ठूलो संख्यामा भारतीय नागरिकहरु नेपाल र भुटानमा बसाईँ सरेका छन्। नेपालको आन्तरिक मामिलामा भारतको ठाडो हस्तक्षेप छ’ चीनको चर्चित थिंकट्यांक छहर इन्स्टिच्युटका अनुसन्धानकर्ता लोङ् सिङ्चुन ग्लोबल टाइम्समा लेख्छन्।
भारतले पहिले ठूलो संख्यामा सिक्किममा भारतीय नागरिकहरु बसाईँसराई गरी पठाएको र अन्ततोगत्वा तिनै भारतीय नागरिकका माध्यमबाट सिक्किमको संसदलाई आफ्नो नियन्त्रणमा लिएर भारतले स्वतन्त्र मुलुक सिक्किम आफूमा बिलय गराएको उनले उदाहरण दिए। सिक्किम बन्नबाट जोगिनु नै भुटान र नेपालका लागि पहिलो चुनौति रहेको उनले उल्लेख गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखहरुमा चिनियाँ विज्ञहरुले भारतको बढ्दो मनोमानीका कारण दक्षिण एसियामा भुटान र नेपालजस्ता मुलुक प्रताडित भएको उनीहरुको भनाई छ।
पश्चिमा मुलुकहरुले भारतको प्रभूत्ववाद दक्षिण एसियामा कायम गराएर चीनलाई घेर्नका लागि भारतलाई उपयोग गरेको उाको भनाई छ। ‘जस्तो सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी गरेको समयमा पश्चिमा मुलुकहरु र संचारमाध्यम त्यसबारे मौन बसे। यसबाट देखिन्छ कि भारतको दक्षिण एसियाका साना मुलुकमा रहेको हैकमवाद बिरुद्द उनीहरु आँखा चिम्लिन्छन्’ उनी लेख्छन्।















प्रतिक्रिया