१ कार्तिक २०८३, आइतबार

काठमाडौंका एसएसपी डान्सबार छिरेपछि ठमेलमा भयो बबाल, सञ्चालकको भागाभाग

23.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । ‘सर, डान्स हेरम न !’, ठमेलस्थित एक डान्स रेस्टुरेन्टबाहिर सडकमा उभिएका युवकले डान्स हेर्न करकाप गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक छविराज जोशी शनिबार राति डान्स रेस्टुरेन्टभित्र छिरे ।

ठमेल क्षेत्रको सुरक्षा अवस्था र सामाजिक विकृतिका विषयमा गोप्य रूपमा अनुसन्धान गर्न सादा पोसाकमा सहयोगी सुरक्षाकर्मीसहित ठमेल पुगेका परिसर प्रमुख जोशीले त्यस डान्स रेस्टुरेन्टमा उत्ताउलो र छाडा डान्स मात्र देखेनन्, ग्राहकसँग जबरजस्ती युवती राखिदिने गरेको घटना पनि प्रत्यक्ष रूपमा देख्न पाए ।

ठमेलको विकृतिलाई त्यस डान्स रेस्टुरेन्ट भित्रको गतिविधि सूक्ष्म ढङ्गले नियालिरहेका प्रहरी प्रमुख जोशीले डान्समा छिरेको एक मिनेटमा नै आदेश दिए, ‘ए, यी सबैलाई उठाऊ । ’ जोशीले आदेश दिएको एकछिनमा नै सुरक्षाकर्मी डान्स बारभित्र पसेपछि मात्र भित्र रहेका सबैले प्रहरीको कारबाही थाहा पाएका थिए ।

त्यहाँ कार्यरत कोही कर्मचारीहरू भन्दै थिए, प्रहरीको ‘ठूलै मान्छे हो रे !’, अरूहरू भन्दै थिए’ ‘गृहमन्त्री नै आयो रे १,’ तर, सुरक्षाकर्मीले नै ‘काठमाडौँका एसएसपी साप’ भनेपछि सब जना लाइन लागेर बसेका थिए ।
नर्सिङचोक नजिक अन्डरग्राउन्डमा रहेको टकिला नामक त्यस डान्स रेस्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित २२ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । त्यो डान्स बन्द गराएपछि ठमेलका अन्य डान्स रेस्टुरेन्ट सञ्चालकबीच पनि भागाभाग चलेको थियो ।

सडकमा हिँडिरहेका सर्वसाधारणलाई करकाप गरी डान्स हेर्न लगाउने, दायाँबायाँ युवती बस्न लगाउने लुट्ने, डान्स रेस्टुरेन्टमा नै देहव्यापारका लागि युवतीको मोलमोलाई गर्ने विकृतिका विरुद्ध परिसर प्रमुख जोशी आफैँ गोप्य अनुसन्धानमा खटिएका हुन् ।

‘ठमेलका बारेमा धेरै गुनासो आएपछि ‘‘सिभिल ड्रेस’मा घुमिरहेको बेला एक अपरिचितले डान्स हेर्न जाऔँ भन्यो’, घटना विवरण सुनाउँदै उनले भने, ‘डान्सभित्र छिरेको त माहोल नै बेग्लै छ, युवती ल्याएर दायाँबायाँ साइडमा राखिदिन्छ, त्यस्तै उत्ताउलो र छाडा नाच देखिन्छ । ’

‘त्यसपछि सबैलाई नियन्त्रणमा लिई डान्स रेस्टुरेन्ट नै बन्द गर्न निर्देशन दिएको हुँ,’ उनले भने ।

ठमेलको टकिला डान्सबार शनिबार ९ बजे रातिदेखि बन्द छ । उनले डान्स देखाउने नाममा पुरुष मान्छेलाई जबरजस्ती भित्र लैजाने, युवतीहरू प्रयोग गरी बढी बिल उठाउने, ठग्ने र देहव्यापारलाई बढावा दिने जस्ता विकृति हुने गरेको बताए ।

यस्तो विकृति नियन्त्रणका लागि ठमेल क्षेत्रमा आफ्नो पहिलो ‘सरप्राइज अप्रेसन’ भएको उनले जानकारी दिए । पर्यटकीय नगरी ठमेलक्षेत्र शान्त र सुरक्षित बनाउन जरुरी भएकाले पनि गोप्य अप्रेसन सुरु गरिएको उनले बताए ।

उनले गुण्डागर्दी, चोरी, डकैती, देहव्यापार, लागू औषधको प्रयोग नियन्त्रण गर्न यस सरप्राइज अप्रेसनलाई निरन्तरता दिने पनि बताए । काठमाडौं उपत्यकामा दुई हजार जति डान्स रेस्टुरेन्ट रहेका छन् । अधिकांश डान्स रेस्टुरेन्टले सर्वसाधारणलाई ठगी गर्नुका साथै सामाजिक विकृति फैलाएको उनले दावी गरे । – गाेरखापत्रबाट