
रोल्पा, २६ असार । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हारेका एमालेका एक नेता गाउँपालिकाको प्रमुख बनेका छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट प्रचण्डको प्रतिस्पर्धी बनेका एमालेका शान्तकुमार ओली यसपटक त्रिवेणी गाउँपालिकाको प्रमुख बनेका हुन् । त्यतिबेला प्रचण्डसँग भिडेका उनले दोस्रो स्थानमा मत पाएका थिए । ओली नेकपा एमाले रोल्पाका पूर्वअध्यक्ष समेत हुन् । उनले १० बर्षपछि नेकपा माओवादी केन्द्रका गंगाप्रसाद घर्तीलाई हराउँदै प्रचण्डसँगको हारको बदला लिए ।
त्रिवेणीमा एमालेले प्रमुख र उपप्रमुख दुबै पदमा जित हासिल गरेको छ । उपप्रमुखमा सावित्रा बुढा घर्ती मगर विजयी भएकी छिन् ।
७ वडा रहेको त्रिवेणी गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुखसहित ४ वडामा वडाध्यक्ष जितेको छ।
माओवादीको आधार क्षेत्रको रुपमा कहलिएको रोल्पामा यसपालि एमालेले त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। काँग्रेस भने एउटा गाउँपालिकामा मात्रै सीमित बन्यो । माओवादी केन्द्रले एक नगरपालिकासहित ७ स्थानीय तह जितेको छ ।















प्रतिक्रिया