१ कार्तिक २०८३, आइतबार

मातृभूमिमा बालबाटिका निर्माणका लागि अमेरिकाबाट आर्थिक सहयोग

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । बूढानिलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा बालबाटिका निर्माणका लागि अमेरिकाबासी केही स्थानीयहरुले आर्थिक सहयोग गरेका छन् । बूढानिलकण्ठ नगरपालिका– ११ का स्थानीय समाजसेवी इच्छाराम खड्काले सार्वजनिक प्रयोजनका लागि दान गरेको ७ आना जमिन फोहोर फाल्ने भिरका रुपमा परिणत भएपछि उक्त जमिनमा सुविधायुक्त बालबाटिका निर्माण गर्ने परिकल्पनाअनुसार अमेरिकाबासी कपनका केही स्थानीयहरु सारथि बनेका हुन् ।

वैदेशिक रोजगारअन्तर्गत केही वर्ष दुबईको अनुभव हासिल गरेर मातृभूमि फर्किएका स्थानीय सुदर्शन केसीको संयोजनमा निर्माणाधीन बालबाटिकाका लागि अमेरिकाबासी कपनका स्थानीयले २ लाख ४० हजार सहयोग गरेका छन् ।

कोलोराडोमा बसोबास गर्ने विदुर खड्का ५१ हजार, न्यूयोर्क बसोबास सञ्चारकर्मी विजय पौडेल ५१ हजार, अर्कन्सासका सरोज सिग्देल ५१ हजार, न्यूजर्सीका शेखर पौडेल १० हजार, इन्डियानामा परिवारसहित बसोबास गर्दै आएका सुमन भण्डारी १० हजार, कोलोराडोमा बसोबास गर्ने विकास खड्का १० हजार, टेक्सास डलास बस्ने केदार तिमिल्सिना १० हजार, कपनका पूर्वगाविस उपाध्यक्ष कनेक्टिकट निवासी रामहरि भण्डारीले २५ हजार, भर्जिनिया निवासी वसन्त बुढाथोकीले १० हजार र सुनिल बुढाथोकीले १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

बाटिका निर्माण संयोजक सुदर्शन केसीले नेपालकै नमूना बाटिका बनोस् भन्ने हाम्रो चाहना र लक्ष्य भएको बताए । उनले भने– ‘७ आना जमिनमा पनि कस्तो पार्क बन्दो रहेछ भनेर हामी देखाउन चाहन्छौं ।’ केसीले ४ जना बालबालिका एकै पटक खेल्न मिल्ने जाँते पिङ, साधारण पिङ, आइरन ट्री, टेबुल टेनिस कोर्ट, कुर्सीहरुको साथमा प्रशस्त फूल, बिरुवा पनि पार्कमा लगाउने योजना रहेको बताए ।

‘पार्कका लागि अहिलेसम्म बूढानिलकण्ठ नगरपालिकाले भने ३ लाख बजेट मात्र उपलब्ध गराएको छ’, उनले भने– ‘अमेरिकाबाट गाउँका दाजुभाइ, दिदीबहिनीहरुले झण्डै अढाई लाख पठाउनुभएको छ, हामी अझै बजेट संकलन गर्दै छौं । सम्भव भए वाटर फाउण्टेन पनि बनाउँछौं ।’

सुविधासम्पन्न बालबाटिका सबै उमेरसमूहका लागि समय बिताउने थलो हुनेछ भने ५० जनासम्म क्षमताको कार्यक्रम स्थलसमेत बनाउने लक्ष्य रहेको छ । बाटिका निर्माण सहयोग संकलनका लागि अमेरिकामा सञ्चारकर्मी विजय पौडेलले संयोजन गरेका हुन् । बाटिका केही महिनाभित्रै सम्पन्न हुने निर्माण समितिले जानकारी दिएको छ । स्थानीय पैपुटारबासीहरु दिनभर उत्साहसाथ जनश्रमदानका लागि खटिइरहेका छन् ।