काठमाडौं, २५ असार । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीलाई भेटी व्यवसायीहरुका समस्या र समाधानका उपायका बारेमा जानकारी गराएको छ ।
महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोलीले सचिव कार्कीलाई उहाँकै कार्यालय सिंहदरबारमा भेटी व्यवसायीहरुका समस्याका बारेमा अवगत गराएको हो । टोलीले सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथौं संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन र अव्यवहारिक तथा सार्वजनिक खरिद कार्य नै प्रभावित हुने दफा तथा नियमहरु संशोधन गर्ने गराउने कार्यका लागि सचिव कार्कीको ध्यानाकर्षण गराएको छ ।
सम्पन्न भई सकेका तथा चालु आयोजनाहरुमा सम्पन्न भएका निर्माण कार्यहरुको विल भुक्तानीको लागि पेश भएता पनि लामो समय देखि निर्माण व्यवसायीहरुले बिल भुक्तानी नपाएका कारण सार्वजनिक निर्माण कार्यहरु प्रभावित भई रहेकोले निकासा समेतको व्यवस्था गरि भुक्तानी गरिदिन सरोकारवालालाई निर्देशन दिन पनि टोलीले आग्रह गरेको छ ।
लामो समय देखि बक्यौता रहेको आयकर, मुल्य अभिवृद्धि कर लगायतका राजश्वहरु बुझाउन नसकी व्यवसायीहरु पिडित हुन परिरहेकोले तिर्न तथा बुझाउन बाँकी रहेको राजश्व बक्यौतामा लागेको व्याज, हर्जना र जरिवाना मिनाहा गरि साँवा कर मात्र चुक्ता गरि बक्यौता फर्छयौट गर्न सकिने व्यवस्था एक पटकका लागि मात्र देशभर लागु हुने आवश्यक प्रकृया थालनी गर्न टोलीले सचिव कार्कीको ध्यानाकर्षण गराएको छ ।
निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ समय सापेक्ष संशोधन गरि निर्माण व्यवसायीहरुको वर्ग कायम गरि वर्ग अनुसार निर्माण कार्य गर्ने गराउने व्यवस्था लागु गर्न आवश्यक गृहकार्यका लागि सम्बनिधत् मन्त्रालयलाई निर्देशित गरिदिन समेत टोलीले आग्रह गरेको छ । संख्यात्मक रुपमा ११ हजार भन्दा बढि साना निर्माण व्यवसायीहरु देशभर क्रियाशिल रहेको कारण स्थानीय स्तरमा हुने निर्माण कार्यको बोलपत्र आव्हान हुँदा साना साना प्याकेजहरुलाई प्राथमिकता दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिन टोलीले सचिव कार्कीको ध्यानाकर्षण गराएको छ ।
साथै टोलीले सचिव कार्कीको कार्यकालको पूर्ण सफलताको कामना पनि गरेको छ । महासंघ टोलीले मन्त्रालयका सहसचिव तथा निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका प्रमुख रविन्द्रनाथ श्रेष्ठलाई पनि भेटी आफना मागका बारेमा जानकारी गराएको छ ।
टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षत्रय लक्ष्मणकुमार राना, रुद्र शर्मा र तेजुकमार कुरुम्बाङ, केन्द्रीय सदस्य सरस्वती कार्की, उपनिर्देशक प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता थियो ।















प्रतिक्रिया