काठमाडौं, २१ असार । नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको छात्रमा चितवन र छात्रामा काठमाडौं मंगलबार टिम च्याम्पियन बनेका छन् । चितवनले ७६ र काठमाडौंले ८२ अंक जोडे ।
छात्रमा ५५ अंकसाथ ललितपुर दोश्रो र ३५ अंकसाथ काठमाडौं तेश्रो भए । त्यस्तै छात्रामा पनि दोश्रो भएको ललितपुरले ५२ अंक जोड्यो । तेश्रो स्थानमा सीमित चितवनले ४७ अंक ल्यायो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ३ हजार मिटर दौडमा काठमाडौंका अजितकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी ९ मिनेट ०३.४३ सेकेन्ड खर्चे ।
ललितपुरका प्रवीण कोइराला दोश्रो र चितवनका अमृत बोटे तेश्रो भए । सोही स्पर्धाको छात्रामा पहिलो भएकी काठमाडौंकी हुमी बुढा मगरले निर्धारित दूरी ११ मिनेट ५३.९८ सेकेन्डमा तय गरिन् ।
धादिङकी मिरा विक दोश्रो र सिन्धुपाल्चोककी रजिना कार्की तेश्रो भइन् । छात्र ज्याभ्लिन थ्रोमा चितवनका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४५.४३ मिटर टाढा फाले । मकवानपुरका सन्तराम माझी दोश्रो र चितवनका विशाल लामा तेश्रो बने ।
त्यसै स्पर्धाको छात्रामा पर्साकी एलिना खड्काले स्वर्ण जितिन् । एलिनाले २५.१२ मिटर थ्रो गरिन् । सर्लाहीकी विष्णुकुमारी कार्कीले रजत तथा ललितपुरकी रेणु चौधरीले कांस्य हात पारे । छात्र ट्रिपल जम्पमा चितनका भुवन महतो अगाडि रहे ।
उनले १३.२२ मिटर हामफाल्दै स्वर्ण चुमे । नुवाकोटका रामकाजी कुमाल दोश्रो र सर्लाहीका मिठुन चौधरी तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा काठमाडौंकी सरु खवास पहिलो भइन् ।
सरुले ८.७३ मिटर जम्प लगाइन् । चितवनकी जसना महतो दोश्रो र काठमाडौंकी सरिता इतनी तेश्रो भए । लङ जम्पको छात्रमा चितवनका भुवन महतो तथा छात्रामा धनुषाकी सीता साह प्रथम भए ।
भुवनले ६.३० तथा सीताले ४.४१ मिटर जम्प गरे । भुवनले प्रतियोगितामा सर्वाधिक ५ स्वर्ण जिते । छात्रमा ललितपुरका आशिष चौधरीले २३.७४ सेकेन्ड तथा छात्रामा ललितपुरकै लुजःला अमात्यले २७.९६ सेकेन्डमा २ सय मिटर दौड पूरा गर्दै स्वर्ण चुमे ।
आशिष र लुजःलाले १ सय मिटरमा पनि शीर्ष स्थान हात पारेका थिए । ८ सय मिटर दौडको छात्रमा सिन्धुलीका सुभाष थापा र छात्रामा ललितपुरकी काजल विष्ट पहिलो बने ।
सुभाषले २ मिनेट ०४.८४ सेकेन्ड तथा काजलले २ मिनेट ३८.१२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । ४ गुणा ४ सय मिटर रिलेको छात्रमा चितवन पहिलो, ललितपुर दोश्रो र काठमाडौं तेश्रो भए । त्यसै स्पर्धाको छात्रामा काठमाडौंले स्वर्ण, चितवनले रजत र ललितपुरले कांस्य प्राप्त गरे ।
कराते : काठमाडौंलाई उपाधि
त्रिपुरेश्वरको दशरथ रंगशालस्थित केन्द्रीय डोजोमा भएको करातेमा ३ स्वर्ण, २ रजत र १ कांस्यसाथ काठमाडौंले उपाधि हात पा-यो । २ स्वर्ण, ३ रजत र २ कांस्यमा काभ्रे दोश्रो भयो भने तेश्रो स्थानमा रहेको भक्तपुरले २ स्वर्ण, १ रजत र २ कांस्य जित्यो ।
पुरुषको ४२ केजीमा भक्तपुरका एरिश शर्मा, ४७ केजीमा काभ्रेका साजन लामा र ५२ केजीमा काभ्रेकै केलकुमार घलानले पहिलो स्थान हात पारे ।महिलाको ४० केजीमा जिया खड्गी, ४५ केजीमा चितवनकी बुद्धलक्ष्मी तामाङ र ५० केजीमा काठमाडौंकी शान्ति तामाङले स्वर्ण जिते ।
भक्तपुरका एरिश तथा काठमाडौंकी जियाले एकल कातामा पनि पहिलो स्थान हात पार्दै दोहोरो स्वर्ण प्राप्त गरे ।उसुमा पनि काठमाडौंत्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको उसुमा पनि काठमाडौंले नै बाजी मा-यो ।
काठमाडौंले ४ स्वर्ण र २ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । २ स्वर्ण र उत्तिनै रजत जितेको नुवाकोट दोश्रो भयो । १ रजत र २ कांस्यमा ललितपुरले तेश्रो स्थानमा चित्त बुझायो ।छात्र थाइची छ्वानमा नुवाकोटका मनीष बुढाथोकी पहिलो भए ।
उनले सर्वाधिक ७.५० अंक जोडे । काठमाडौंका विवेक श्रेष्ठ दोश्रो र मकवानपुरका नवदीप श्रेष्ठ तेश्रो भएको । सो स्पर्धाको छात्रामा चितवनकी ज्योति तामाङ ७.४१ अंक जोड्दै पहिलो भइन् ।
नुवाकोटकी दीपिका राई दोश्रो र ललितपुरकी दीपा महजर्न तेश्रो बने । बाँकी ४ स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।
तेक्वान्दो ः काठमाडौ नै च्याम्पियन
नवौँ राष्ट्रिय रनिङ्ग शिल्ड अन्तर्गत मध्यमाञ्चलको क्षेत्रीय तेक्वान्दो छनौटको शिल्ड काठमाडौँले जितेको छ । कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस क्लबमा भएको छनोटमा काठमाडौँले ३ स्वर्ण र २ रजत पदकका साथ च्याम्पियनको शिल्ड उचाल्यो ।
दुई स्वर्ण र एक कास्य जितेको नुवाँकोट दोस्रो तथा ललितपुरले समान एक–एक स्वर्ण,रजत र कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझायो ।
मंगलबार भएको खेलमा महिला ४२ केजी तौलसमुहमा काठमाडौंकी अस्मीता महर्जनले स्वर्ण,मकवानपुरकी मुना थोकरले रजत,काठमाडौँकी रोशनी श्रेष्ठ र भक्तपुरकी कृती श्रेष्ठ तेस्रो भइन् ।
महिलाको ४४ केजीतौल समुहमा नुवाकोटकी रिता तामाङले स्वर्ण,काठमाडौँकी सरिता रुवालीले रजत पदक जितिन् । सोही तौलमा काभ्रेकी सरिता चापागाँई र ललितपुरकी मारियाँ पुनले कास्य पदकै चित्त बुझाइन् ।
महिलाकै ४६ केजी तौलसमुहमा काठमाडौँकी योगमाया श्रेष्ठले स्वर्ण र पर्साकी मुकान चौधरीले रजत पदक हात पारिन् । उक्त तौलमा रामेछापकी अनिता कार्की र मकवानपुरकी सुकुमाँया बुलुनले कास्य पदक जितीन् ।
पुरुषको ४५ केजीतौल समुहमा काठमाडौँका पुजन खड्काले ललितपुरका श्रीकृष्ण कार्कीलाई हराउँदै स्वर्ण जिते । सो तौलमा पर्साका राजकुमार श्रेष्ठ र बाराका सुसान्त भोलुनले संयुक्त रुपमा कास्य जिते । पुरुषकै ४८ केजीतौलमा नुवाकोटका विकास कुमालले भक्तपुरका सौरभ गुरुङलाई हराउँदै स्वर्ण पदक जिते ।
सोही तौलमा रामेछापका बाबुलाल बन्जरा र बाराका सुरेसमान थिङले कास्यमै चित्त बुझाए । पुरुषको ५१ केजी तौलमा ललितपुरका विवेश केसीले काठमाडौँका सैलेस गीरीलाई हराउँदै स्वर्ण पदक हात पारे ।
उक्त तौलमा नुवाकोटका कृष्ण बहादुर तामाङ र भक्तपुरका विकल मगर संयुक्त रुपमा कास्यमै सिमीत भए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मध्यमाञ्चल छनौटमा १८ जिल्लाका विभिन्न तौल समुहका १०८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको मध्यमाञ्चल क्षेत्र छनोटका संयोजक नविन कुमार श्रेष्ठले बताए ।
विजेता खेलाडीलाई पुर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले पुरस्कृत गरे । नवौँ राष्ट्रिय विद्यालायस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद अन्तर्गत तेक्वान्दो प्रतियोगिता अगामी २३ र २४ असार सम्म हुनेछ ।
कबड्डी : धनुषा र भक्तपुर पहिलो
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कबड्डीको छात्रामा धनुषा र छात्रामा भक्तपुर पहिलो भएका छन् ।छात्रको फाइनलमा धनुषाले ललितपुरलाई ५२–३१ ले पराजित ग-यो ।
छात्राको उपाधि भिडन्तमा भक्तपुरले काभ्रेलाई ३४–१६ ले हरायो ।विजेतालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, सदस्य उमेश केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।















प्रतिक्रिया