
– नरेश केसी
भैरहवा, २० असार । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र काँग्रेस नेता बालकृष्ण खाँडको प्रतिष्ठासँग जोडेर हेरिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्ततः नेकपा एमालेले जित हात पारेको छ ।
तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेसका नेता एवं पूर्वमन्त्री खाँडले आफ्नै भाईलाई जिताउन सकेनन् ।
मेयरमा नेकपा एमालेका बासुदेव घिमिरे १९ हजार ८४ मत ल्याएर विजयी भए । यसैगरी, काँग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत पाए । रामकृष्ण काँग्रेस नेता बालकृष्ण खाँडका सहोदर भाई हुन् । तिलोत्तमा काँग्रेस र जनमुक्ति पार्टीले गठबन्धन गरेका थिए। एमाले एक्लै मैदानमा थियो।
उपमेयरमा पनि एमालेकी जागेश्वरी चौधरीले जनमुक्तिकी गिता सारु मगरलाई पराजित गरिन् । चौधरीले १९२२४ मत प्राप्त गरेकी छन् भने सारुमगरले १६००६ मत प्राप्त गरिन् ।
१७ वटा वडा रहेको तिलोत्तमामा वडा नंं ९, १०, १६ र १७ गठबन्धनले जितेको छ भने अरु १३ वटा वटा एमालेको प्यानल विजयी भएको छ ।
गएको संविधानसभा चुनावमा काँग्रेसबाट बालकृष्ण खाँड विजयी भएका थिए भने एमालेका उपमहासचिव भुसाल झिनो मतले पराजित भएको थिए । काँग्रेसले जनमुक्तिसँग गठबन्धन गरेपछि रुपन्देहीमा यो नगरपालिका पनि निकै चासोका साथ हेरिएको थियो ।











प्रतिक्रिया